विराटनगर १ साउन । सुनसरीको बराहक्षेत्रमा प्रेमीको कुरा काटेको निहुँमा युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटापिट गरेको घटना बाहिरिएको छ । ती युवतीको समूहले ३ जना युवतीलाई सप्तकोशीको किनारमा निर्घात कुटपिट गरेको पाइएको हो ।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका–९ कि १९ वर्षकी कृति लिम्बुलाई पक्राउ गरेको छ ।
उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।
सुनसरीको बराहक्षेत्र– ९ को राजाबास (कोशी किनार) मा शुक्रबार कृतिसहित ५ जनाको टोलीले अन्य तीन जना युवतीलाई बोलाएर निर्घात कुटपिट गरेको थियो । कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
प्रेमीको विषयमा कुरा काटेको निहुँमा कुटपिट गरेको पाइएको प्रहरी नायव उपरीक्षक राईले बताए । उनले सो घटनामा एक जना पक्राउ गरिएको र अन्य ४ जनाको खोजी भइरहेको बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राइले बताए ।