राजगढका अध्यक्ष मण्डलको मनपरीविरुद्ध अन्य जनप्रतिनिधि र स्थानीय आन्दोलित

राजविराज, २० साउन–कानून र विधि प्रक्रिया विपरित गरिएको १३ औं गाउँसभा पुनः सञ्चालनसहितका १० बुँदे माग गर्दै सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरु आन्दोलित भएका छन् ।

उनीहरुले आइतबार राजविराजमा प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई आवश्यक पहलका लागि ज्ञापन–पत्र समेत बुझाएका छन् । क्यान्सर रोगले पीडित भएर विरामी अवस्थामा रहेका वडा नम्वर ५ का वडाअध्यक्ष ७३ वर्षिय दुःखिलाल भन्ने देवेन्द्रप्रसाद साह नेतृत्वमा आएका अन्य जनप्रतिनिधि र स्थानीयहरुद्वारा हस्ताक्षरित ज्ञापन–पत्र प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती तथा प्रहरी उपरीक्षक गजुसिद्धी बज्रार्चायलाई बुझाएका हुन् ।

०८१ साउन १० गते सम्पन्न १३ औं गाउँसभा ऐन कानुन विपरित भएको दाबीसहित उक्त गाँउसभाबाट पारित निर्णयहरु यथास्थितीमा राखी गाउँसभा बदर र अर्काे नयाँ मिति तोकेर पुनः गाउँसभा गर्नुपर्ने उनीहरुको प्रमुख माग रहेको छ ।

गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ९ को दफा ६५ र दफा ६७ बमोजिम समितिबाट निर्णय नै नगराई मनपरी र एक पक्षिय ढंगले गाउँसभा गरेकाले सो बदर नगरिए चरणबद्ध आन्दोलनमा जाने उनीहरुले ज्ञापन–पत्रमार्फत चेतावनी समेत दिएका छन् ।

गाउँसभामा कुल ३४ जना कार्यपालिका सदस्य रहेकोमा १ जनाको निधन भई हाल ३३ जना मात्र सदस्य कायम छन् । जसमध्ये १७ जनाले गत साउन १० गते सम्पन्न भएको गाउँसभालाई अवैधानिक भन्दै ज्ञापन–पत्रमा हस्ताक्षर गरी अर्काे गाउँसभा गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै ज्ञापन–पत्रमार्फत गाउँपालिकाको ०७९/०८० र ०८०/०८१ को आय–व्यय तथा लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, गाउँपालिकामा कार्यरत कर्मचारीको विवरण उपलब्ध गराउनुपर्ने, गाउँपालिकाकाको आफ्नै एउटा स्कारपिओ हुँदाहुदै थप २ वटा स्कारपिओ गाडी भाडामा लिनुको कारण खुलाउनु पर्ने तथा करार पदमा नियुक्त भएका स्वयसेवक शिक्षक तथा प्रशासनिक सहायक पदका कर्मचारीहरुले लामो समयदेखि नपाएको तलब सुविधा यथासिघ्र उपलब्ध गराउनु पर्ने लगायतका माग पनि अघि सारिएको छ ।

टोलीमा सहभागी स्थानीय समाजसेवी रामकान्त यादवले २२ गते मंगलबार गाउँपालिका कार्यालयमा ज्ञापन–पत्र बुझाउने तथा आफुहरुले अघि सारेको जायज मागहरुउपर तत्काल सम्बोधनको पहल नभए बैठक बसी आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयारी भएको जानकारी समेत दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार