राजविराज, १ कार्तिक–सप्तरीको राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी निलम्बित छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २३ गते उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । यादव जिल्लाको तिरहुत गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा पर्यटन क्षेत्र अन्तर्गत गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा व्यवस्थापन सम्बन्धी योजनामा कुनै काम नै नगरी ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ निकासा लिएर भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।
उनीसहित अन्य ११ जनासँग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सोही बराबरको बिगो, कैद र जरिवाना समेतको सजाय हुन मागदावी लिई दर्ता भएको मुद्दा चलिरहदा अर्को योजनामा पनि छानबिन सुरु भएको हो ।
राजगढका उक्त योजना पनि लगभग तिरहुतमा भ्रष्टाचार दावी गरिएको योजना जस्तै रहेको अख्तियारमा दिइएको उजुरीमा उल्लेख रहेको छ । उजुरी अनुसार राजगढ गाउँपालिकामा आर्थिक वर्ष ०७९/०८० मा मोस्तकिम घरदेखि कारी साहको पोखरीसम्म भएको माटो ग्राभेल कार्यमा १० लाखभन्दा बढी भ्रष्टाचार भएको हो ।
उजुरीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव र जनप्रतिनिधिको मिलेमतोमा भ्रष्टाचार भएको दावी गर्दै छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ । उक्त उजुरी दर्ता भई थप प्रक्रिया अघि बढेको अख्तियारले जनाएको छ ।
यता, पछिल्लो महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा पनि उक्त योजनामा कामभन्दा साढे लाख बढी भुक्तानी भएको उल्लेख गरिएको छ ।
‘उपभोक्ता समितिले पेश गरेको बिल, भरपाई, प्राविधिक प्रतिवेदन, निवेदन र टिप्पणी आदेशअनुसार १९ लाख ३५ हजार ५ सय ९१ रुपैयाँ खर्च लेखेको थियो । तर, कार्यसम्पन्न प्रतिवेदन तथा नापी किताव अनुसार आइटम नम्वर २ को ग्राभेल कार्य ५ सय ७५ दशमलव १७ घनमिटरको प्रति घनमिटर २ हजार ७ सय २८ रुपैयाँ ७३ पैसाका दरले १५ लाख ६९ हजार ४ सय ८३ रुपैयाँ मुल्याकंन भएकोमा उपभोक्ता समितिले पेश गरेको खरिद बिल अनुसार ३ सय ७१ घनमिटर मात्र रहेको’, प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा २ सय ४ दशमलव १७ घनमिटरको बढी मुल्याकंन गरेर निकासा दिएकोले बढी निकासा दिइएको ५ लाख ५७ हजार १२० रुपैयाँ असुल गर्न भनेको छ ।