राजविराज–सप्तरीस्थित राजविराज विमानस्थलमा सोमबारदेखि रात्रिकालीन उडान सुरु भएको छ । काठमाडौंबाट सोमबार दिउँसो आएको बुद्ध एयरको एटीआर–७२ विमानले राजविराज विमानस्थलबाट साँझ ८ः२० बजे काठमाडौंका लागि उडान भरेको हो ।
साँझ ६ बजेर ३० मिनेटका लागि तय गरिए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आउन ढिला भएपछि राजविराजबाट काठमाडौंको उडान पनि पछि धकेलिएको हो । राजविराज विमानस्थलका प्रमुख ध्रुवराज श्रेष्ठका अनुसार रात्रिकालीन उडानका लागि यात्रुसहितको बुद्ध एयरको जहाज सोमबार साँझ सवा ५ बजे राजविराज विमानस्थलमा अवतरण भइसकेको थियो ।
मन्त्री पाण्डेको उपस्थितिमा औपचारिक कार्यक्रम गरेर ६ बजेर ३० मिनेटमा बुद्धको जहाज रात्रीकालीन उडान गर्ने समय तालिका रहेको थियो । मन्त्री पाण्डे समयमा नआएपछि तोकिएको समय तालिका परिवर्तन गरिएको हो ।
यसअघि न्यूनतम ५ हजार मिटर भिजिबिलिटीमा मात्रै राजविराज विमानस्थलमा उडान हुने गर्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रि उडानका लागि धावनमार्गमा जहाजलाई दिशानिर्देश गर्ने ’लाइट सिस्टम’ जडान गरेपछि अब न्यूनतम २ हजार मिटर भिजिबिलिटीमा पनि दिउँसो वा राति उडान सम्भव हुने भएको छ ।