सर्लाही-सर्लाहीको बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
बरहथवास्थित नयारोड सडकखण्डमा गएराति उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दासको मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।