राजविराज–सप्तरीको राजविराज नगरपालिकाभित्र स्थापनाकालदेखि बसोवास गरिरहेका बिटौरी–ब्लक जग्गा पीडितले लालपुर्जा माग्दै आइतबार राजविराज बजार बन्द गरेका छन् ।
राजविराज नगरबासी पीडित संघर्ष समितिको अगुवाइमा उनीहरुले आन्दोलन थालेका हुन् ।
प्रदर्शनकारीले स्थानीय मिनी मार्केट अगाडि टायर बालेर प्रदर्शन समेत गरेका छन् । सो क्रममा अवरुद्ध यातायात, बजार र सडकमा बालिएको टायर निभाउन प्रहरीले हस्तक्षेप गर्दा केही बेर घम्साघम्सी भएको थियो ।
प्रदर्शनस्थलमै आयोजित विरोधसभामा वक्ताहरुले नगरबासीको पुर्वनिर्धारित संघर्षका कार्यक्रममा गरिएको प्रहरी हस्तक्षेपको विरोध गरेका थिए ।
प्रदर्शनकारीले राजबिराजका बिटौरी र बल्क जग्गा पीडितलाई अविलम्ब लालपुर्जाका लागि राजविराज नगरपालिका, नापी र मालपोतसहित सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराए ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका स्थापना हुनुअघि हनुमानगरमा थियो । त्यतिबेला लगातार कोसी कटान हुँदा सदरमुकाम हनुमाननगर सारेर २०१६ सालमा राजविराज स्थापना गर्दा ५०, १०० र १५० रुपैयाँका दरले कित्ताकाट गरी स्थानीयलाई माल अड्डाले जग्गा उपलब्ध गराएको थियो । सोही जग्गालाई बिटौरी जग्गा भनिएको हो ।
६० बिघा बिटौरी र १० बिघा बल्क गरी मुलुकमै पहिलोपटक टाउन प्लानिङ गरी स्थापना गरिएको राजविराज नगरका बासिन्दालाई अहिलेसम्म लालपुर्जा उपलब्ध नगराइएको नगरबासीको गुनासो छ ।