रामशंकर भण्डारी
राजविराज–सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलमा आइतबार दिउँसो आगलागीबाट लाखौंको क्षति भएको छ ।
स्थानीय दुबीलाल यादवको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट एउटा फर्निचर उद्योग र तीन वटा घर जलेको प्रहरीले जनाएको छ ।
उक्त आगोले छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट भएको छ ।
दुबीलालको घरसहित नगद ५० हजारसहित गरगहना, लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएको छ भने शर्माको फर्निचर उद्योगमा राखिएका लाखौंको काठ र फर्निचर तथा काठ चिरान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भएको जनाएको छ ।
प्रहरीका अनुसार शर्माको ४ लाखभन्दा बढी र यादवको ८ लाखभन्दा बढीको सम्पत्ति आगोमा जलेर नष्ट भएको छ ।
आगोलाई स्थानीय बासिन्दा, प्रहरी र दकमलको सहयोगमा निभाइएको छ ।