कमला पुल निर्माण अलपत्रः निर्माण कम्पनी फरार, सास्ती झेल्दै सर्वसाधारण

मधेशलाइभ डेस्क
राजविराज, ७ वैशाख । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकमा पर्ने कमला नदीमा पुल निर्माण भई सञ्चालनमा आउने परिकल्पना ‘आकाशको फल आँखा तरी मर’ नेपाली उखान झैं भएको छ ।

२०७८ असार १७ गते आएको बाढीले पुलको सिराहातर्फको दोस्रो पाया भासिएपछि निर्माण कार्य रोकिएको थियो । सिरहा र धनुषावासीको सङ्घर्ष पश्चात थालिएको निर्माण कार्य बीचमै छाडेर भागेपछि पुल निर्माणकार्य अन्यौलग्रस्त बन्न पुगेको हो । निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले आगामी असार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाएकोमा गत महिना नै काम बन्द गरी सम्पर्क विहिन भएका छन् ।

तराई मधेशको भाग्य भविष्य मानिने हुलाकी सडकमा भइरहेको चरम लापर्वाहीका कारण सर्वसाधारण सास्ती झेल्न बाध्य भएका छन् । स्थायी पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई तत्काल आवतजावतका लागि सिरहा नगरपालिकाले २०७९ कात्तिक १७ गतेदेखि बाँस र प्लाइउड प्रयोग गरी अस्थायी पुल निर्माण गरी सञ्चालनमा ल्याएका छन् । तर कमला नदीमा पानीको वहाव सामान्य रुपमा बढे पनि आवागमन पूर्ण रुपमा ठप्प हुने गरेको छ । दुई दिन अघिमात्र नदीमा पानी बढेपछि बाँसको पुलमाथि बिछ्याइएका प्लाई उड बगाएपछि घण्टौं आवागमन अवरुद्ध हुन पुगेको थियो ।

बाँसको पुलबाट मोटरसाइकल वारी वा पारी गर्दा चालकले २० रुपैयाँ शुल्क तिर्नु पर्ने नियम छ भने पैदल यात्रीका लागि निःशुल्क रहेको सिरहा नगरपालिकाका स्थानीय रामेश्वर यादवले जानकारी दिए । उनका अनुसार सप्तरी, सिरहा र धनुषाको अधिकांश भागमा सडक पीच भइसकेका कारण चारपाङ्ग्रेलाई सहज हुने तथा राजमार्गभन्दा दूरी समेत छोटिने भएकोले अधिकांश यही बाटो रोज्ने गरेको उनी बताउँछन् । कमलामा पानी कम होला भनी आश गरेर आउने अधिकांश चारपाङ्ग्रे बीचमै फँस्ने गरेको बताउँदै उनले भने ‘दुई अघि मात्र एक स्कार्पिओ तर्ने क्रममा पानीमै फँस्नपुग्यो, ट्रयाक्टर मगाएर टोचन गरी निकालियो, बिहेको छेकाका लागि मिठाई, लत्ताकपडा लगायतका सामानहरु पानीमा भिजेर बर्वाद हुनपुग्यो, त्योे बिचरालाई रुनु बाहेक कुनै विकल्प नै रहेन ।’

स्थानीयवासिन्दाका अनुसार वर्षायाममा नदीमा पानी रहने गरेका कारण बाँसको पुल समेत ठड्याउन नसकिने भएकोले दुई पाङ्ग्रेका साथै पैदल आवागमन समेत अवरुद्ध हुने निश्चित छ । पुल निर्माण कम्पनीको लापरबाहीको चरम लापर्वाहीले गर्दा हज्जारौं यात्रु सास्ती झेल्न बाध्य छन् । पुलको कुल लम्बाइ ४६९.२ मिटर रहेको छ । जसमा १२ वटा स्पान र १३ वटा पिल्लर छन् । भासिएको पायाको स्थानमा नयाँ डिजाइनअनुसार एकवटा पिल्लर राखी दुईवटा स्ल्याब राखिने तथा धनुषातर्फको पायाको पुनर्निर्माण गरिने लक्ष्य छ ।

तराई मधेशको मेरुदण्ड मानिने हुलाकी सडकमा पर्ने कमला नदीको पुल निर्माणमा तीनै तहको सरकारले समेत बेवास्ता गर्दै आएका कारण पछिल्लो समय निर्माण कम्पनी निर्माण काम भइरहेको भनी नाटक गर्दैआएका छन् । सिरहावासी लेखक एवम् पत्रकार रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक निर्माण र कमला पुल निर्माणका लागि पटक–पटक तीनै तहको सरकारलाई दवाब दिँदैआएका छन् ।

हुलाकी सडक परियोजना नेपालको तराई–मधेश क्षेत्रलाई पूर्व–पश्चिम जोड्ने ऐतिहासिक योजना हो । यसले सीमावर्ती बस्तीहरूलाई सडक सञ्जालमा जोड्ने उद्देश्य राखेको छ । प्रारम्भिक रूपमा १,००० किलोमिटर लामो मानिएको यो परियोजना हाल सहायक सडकहरू समेत जोडिँदा १,८०० किलोमिटरभन्दा बढी पुगेको छ ।


उपलब्ध विवरण अनुसार हालसम्म भौतिक प्रगति करिब ६६% र वित्तीय प्रगति ५७% पुगेको छ । मधेस प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा ३३५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने नेपालगञ्ज–गुलरिया खण्डको ९५% काम पुरा भइसकेको छ । कुल ५१ वटा पक्की पुल समेत निर्माण भइसकेका छन् ।

मुख्य तस्विरः इन्द्रजित यादव सामाजिक सञ्जाल ।  अन्य मधेशलाइभ डट्कम् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780