नेपाल पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा

काठमाण्डू, ५ जेठ – नेपालको महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै नेपालले यो उपलब्धि हासिल गरेको हो।

थाइल्यान्डमा जारी प्रतियोगितामा सुपर–थ्री चरणमा शीर्ष दुई स्थानमा रहेर नेपालले ग्लोबल छनोटको यात्रा सुनिश्चित गरेको हो। अब नेपालले यसै वर्ष आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा भाग लिनेछ, जहाँ कुल १० टोली सहभागी हुनेछन्। ग्लोबल छनोटमा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने विश्वकप खेल्न पाउनेछन्।

थाइल्यान्डको टेर्डथाइ मैदानमा आज टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो। नेपालले ११५ रनको लक्ष्य १९ दशमलव ३ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि कप्तान इन्दु बर्मा ३० रनमा अविजित रहिन् भने रुबिना क्षेत्रीले २३, स्मरण खड्काले २१, पूजा महतोले १३, राजमती ऐरीले ८ र रुबी पोदारले अविजित ६ रन बनाइन्।

बलिङतर्फ युएईका लागि मिशेल बोथ, सुरक्षा कोटे, वैष्णवी महेश र कप्तान इशा ओजाले एक–एक विकेट लिइन्।

यसअघि युएईका लागि कप्तान इशा ओजा ३९, तीर्थ सतीश २१, हिना होटचन्दनी २० र लाभन्या केनीले १२ रन बनाएकी थिइन्। नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट, कविता कुँवरले २ विकेट र राजमती ऐरीले १ विकेट लिइन्।

यसअघि सुपर–थ्रीको पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले पराजित गर्दै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ। अब नेपालले सुपर–थ्रीको अन्तिम खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780