काठमाडौं । स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्राको नाम फिर्ता हुने देखिएको छ। उनीमाथि भ्रष्टाचारसम्बन्धी आरोप रहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको सूचना पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस रोक्ने तयारी गरेकी हुन्।
आइतबार प्रधानमन्त्री कार्कीले मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेललाई राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्।
मिश्राको नाम विवादित ठहरिएपछि राष्ट्रपति कार्यालयलाई तत्कालै प्रक्रिया होल्ड गर्न भनिएको स्रोतले जनाएको छ। सो कारण हिजो मन्त्रिपरिषद् विस्तार रोकिएको हो। यद्यपी प्रधानमन्त्री कार्यालयले आज दिउँसो २ बजे शपथग्रहणसहित मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको जनाइएकाे छ।
यता डा. मिश्राको नाम होल्ड भएपछि चौतर्फी आलोचना गर्ने क्रम बढेको छ ।