महावीर पुनसहित चार मन्त्रीले लिए शपथ, कार्की मन्त्रिपरिषद् सात सदस्यीय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा सोमबार थप चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा पत्रकार जगदीश खरेल र कृषिमन्त्रीमा जलवायु तथा कृषिविज्ञ डा. मदन परियार नियुक्त भएका छन्।

यससँगै मन्त्रीपरिषद्मा प्रधानमन्त्रीसहित सात जना मन्त्री पुगेका छन्। यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुन मन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक योजना तथा निर्माण तथा सहरी विकास मन्त्रीमा कुलमान घिसिङ नियुक्त भइसकेका थिए।

नवनियुक्त मन्त्रीहरूमध्ये महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन्। अमेरिकाबाट अध्ययन पूरा गरी फर्केका उनले गाउँमा प्रविधि र शिक्षाको पहुँच विस्तार गरेका थिए। सन् २००७ मा रामोन म्याग्सेसे पुरस्कार र २०७९ मा भवन कीर्ति रत्न पुरस्कार प्राप्त गरेका छन्।

उद्योग तथा भूमिसुधार मन्त्री सिन्हा कर तथा कर्पोरेट कानुनका विशेषज्ञ वकिल हुन्। सर्वोच्च अदालतमा न्यायाधीश रहँदा संसद विघटन र लोकमानसिंह कार्की प्रकरणमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

पत्रकारितामा दुई दशकदेखि सक्रिय जगदीश खरेल सञ्चारमन्त्री बनेका छन्। उनी इमेज टिभीमा समाचार प्रमुख र ‘हट सिट’ कार्यक्रम सञ्चालनका कारण परिचित छन्।

कृषिमन्त्री डा. मदन परियार समता फाउन्डेसनका अध्यक्ष र दलित समुदायबाट पिएचडी गर्ने पहिलो व्यक्ति हुन्। संविधानसभा राज्य पुनर्संरचना आयोगको संयोजक भइसकेका परियारले उदयपुर सिमेन्ट र कृषि औजार कारखानामा समेत काम गरेका थिए।

स्वास्थ्य मन्त्रालयका लागि डा. संगीता कौशल मिश्राको नाम सिफारिस भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेकाले उनको नियुक्ति रोकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस