काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिक प्रक्रिया सुरु गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले कात्तिक मसान्त (कात्तिक ३०) सम्म नामावली सङ्कलन जारी राख्ने निर्णय गरेको हो । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आजैदेखि मतदाता नामावली सङ्कलनको कार्य औपचारिक रूपमा सुरु भइसकेको छ ।
भण्डारीले भने, “आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकले यस पटकको निर्वाचनमा भोट हाल्न पाउनेछन् । त्यसैले कात्तिक मसान्तसम्म नामावली सङ्कलन निरन्तर गरिनेछ ।”
यसअघि आयोगले अध्यादेशमार्फत मतदाता नामावली अद्यावधिकको बाटो खोलिदिन सरकारसँग आग्रह गरेको थियो । सरकारको स्वीकृति पाएपछि आयोगले प्रक्रिया अघि बढाएको हो ।