सदा टाेलमा फैलियो झाडापखाला : एकै परिवारका तीन जनाको मृत्यु, गाउँमा त्रास

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा दुई सातादेखि फैलिएको झाडापखालाले एकै परिवारका दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी स्थानीय प्रभावित छन् ।

स्थानीय बुचन सदाका एक वर्षीय छोरा संजीव सदाको गत बिहीबार मृत्यु भएको हो । तीन दिनदेखि लगातार पखाला लागिरहेका संजीवसँगै उनका बुवा ६६ वर्षिय क्ष्मण सदा , २६ वर्षिया पार्वतीदेवी र चार वर्षीया छोरी राघिनी पनि बिरामी परेका थिए । गाउँकै क्लिनिकबाट औषधि खाए पनि सुधार नआएपछि संजीवलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्‍याइएको थियो । तर, चिकित्सकले अवस्था गम्भीर भन्दै बाहिर लैजान सुझाएपछि उपचारका लागि लहानतिर लैजाँदै गर्दा बाटोमै संजीवको मृत्यु भयो ।

संजीवको मृत्यु भएको केही दिनमै उनका हजुरबा लक्ष्मण सदाको पनि सोही रोगका कारण मृत्यु भयो । आर्थिक अभावका कारण समयमै उपचार हुन नसकेकाले परिवारले बुवाको ज्यान जोगाउन सकेन । त्यसपछि झाडापखालाले थला परेकी राघिनीको पनि गत शुक्रबार मृत्यु भयो ।

गाउँमा हाल पनि पखालाका बिरामी बढिरहेका छन् । दूषित पानी र फोहरमैला व्यवस्थापनको अभावले संक्रमण फैलिएको स्थानीयको अनुमान छ । स्वास्थ्यकर्मी नआएको र औषधि अभावले स्थिति झनै गम्भीर बनेको छ । स्थानीयवासीले सम्बन्धित निकायलाई तत्काल स्वास्थ्य शिविर र सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस