जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी स्कुल तथा प्रशिक्षण विभागद्वारा आयोजना गरिएको मधेश प्रदेशस्तरीय तीनदिने प्रशिक्षण कार्यक्रम आजदेखि जनकपुरधाममा सुरु भएको छ।
उद्घाटनपछि पहिलो दिनको प्रमुख सेसन पार्टी अध्यक्ष तथा प्रमुख प्रशिक्षक उपेन्द्र यादवले लिएका छन्। उनले नेपालका राजनीतिक शक्तिहरूको तुलनात्मक अध्ययन शीर्षकमा प्रस्तुति दिँदै देशको वर्तमान राजनीतिक परिदृश्य, दलहरूको वैचारिक स्थिति, शक्ति–सन्तुलन तथा संघ–प्रदेश सम्बन्धबारे विस्तृत विश्लेषण प्रस्तुत गरे।
कार्यक्रममा पार्टीका विभिन्न तहका नेता र कार्यकर्ताहरूको सक्रिय सहभागिता रह्यो। पार्टी स्कुल तथा प्रशिक्षण विभागका अध्यक्ष सुरेश मण्डलका अनुसार प्रशिक्षणको लक्ष्य मधेशभरि संगठनलाई सुदृढ बनाउनु, राजनीतिक अध्ययनलाई व्यवस्थित गर्नु तथा नेता–कार्यकर्तालाई स्पष्ट नीति–दिशा प्रदान गर्नु हो।
तीन दिनसम्म सञ्चालन हुने यो प्रशिक्षणमा विभिन्न विषयगत सेसनहरू रहने बताइएको छ।