काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले निद्राजन्य विकारहरु (स्लीप डीसअडर्स)को चुनौतीसँग लड्न थप सचेतना र अनुसन्धान जरुरी रहेको बताएका छन् ।
उपराष्ट्रपति यादवले नेपालमा निद्रासम्बन्धी विकारहरुको बढ्दो चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले ‘नेप्लीज सोसाइटी अफ स्लीप डीसअडर्स’ द्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई शनिबार काठमाडौंमा सम्वोधन गर्दै निद्राको महत्वमा जोड दिएका हुन् । निद्राले शरीर, मन र आत्मालाई पुनः स्फूर्ति प्रदान गर्ने मात्र नभई स्मरणशक्ति, भावनात्मक सन्तुलन र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने औषधि सरहको भूमिका निर्वाह गरेको बताए ।
‘आधुनिक जीवनशैली, शहरीकरण, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले स्लीप डिसअडर्सको समस्या गम्भीर बन्दै गएको छ ’ उनले भने, ‘यसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिहेको छ ।’ उनले मानसिक तनाव, बेरोजगारी, आर्थिक असुरक्षा तथा मधुमेह, उच्च रक्तचापजस्ता रोगहरूले निद्रामा गहिरो असर पारिरहेकोले समयमै यतिप्रति सबैको ध्यानाकृष्ट हुन जरुरी रहेको बताए ।
‘निद्राजजन्य विकारहरुले व्यक्तिगत मात्र नभई सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष असर पार्न सक्छ ’ उपराष्ट्रपति यादवले भने, ‘नियमित जीवनशैली, ध्यान, योग, शारीरिक व्यायाम र विशेषज्ञ चिकित्सकसँग परामर्शलाई प्राथमिकता दिएर यसका असरहरुलाई न्यूनिकरण गर्न सकिन्छ । ’
उनले विद्यालयदेखि समुदायसम्म निद्राको महत्वबारे सचेतना कार्यक्रम सञ्चालन, नेपालमै स्लीप मेडिसिनमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी तयार गर्ने, स्वास्थ्य नीतिमा निद्राजन्य विकारको पहिचान र उपचारलाई प्राथमिकता र नेपाल–आधारित अनुसन्धानलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउनमा जोड दिए । उपराष्ट्रपति यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक तथा नीति निर्माताहरूको सक्रिय सहभागिता रहेको सम्मेलनले नयाँ विचार, अनुसन्धानका अवसर र सहकार्यका सम्भावनाहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्दै यसले नेपालमा निद्रासम्बन्धी विकार न्यूनिकरणका उपाय पहिचान गरोस् भन्ने शुभकामना समेत व्यक्त गरे ।