राजविराज । राजविराज स्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयविरुद्ध जेन–जी पुस्ताले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यलाई सोमबार पनि निरन्तरता दिएका छन् ।
आन्तरिक राजस्व कार्यालय स्थापनाका लागि संघर्ष समिति सप्तरीको आयोजनामा जेन–जी युवाहरू तथा स्थानीय उद्योगी–व्यवसायीहरूले दोस्रो दिन समेत धर्ना दिने कार्यलाई निरन्तरता दिएका हुन् । युवाहरूले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिएका छन् ।
राजविराजस्थित करदाता सेवा कार्यालयलाई नै बढुवा गरी आन्तरिक राजस्व कार्यालयको रूपमा स्थापना गर्नुपर्ने एकमात्र मागसहित संघर्ष थालिएको संघर्ष समितिका संयोजक मोहन यादवले जानकार दिएका छन् । गाभ्ने वा खारेज गर्ने कार्य अविलम्ब बन्द गर्न उनीहरुलृ आग्रह गरेका छन् ।
धर्ना कार्यक्रममा उद्योगी–व्यवसायी र जेन–जी पुस्ताका युवाहरूको सक्रिय उपस्थिति रहेको छ । देखिन्छ । संघर्ष समितिले मंसिर २३ गते जिल्लाका सबै नगरपालिका, गाउँपालिका, वडा तथा सरकारी कार्यालय बन्द गराउने कार्यक्रम रहेको जनाइएको छ ।
राजविराजस्थित करदाता सेवा कार्यालयमा ७२ हजारभन्दा बढी करदाताहरू छन् र गत आर्थिक वर्षमा यस कार्यालयले १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो । सरकारले देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गरी सेवा आन्तरिक राजस्व कार्यालयमार्फत प्रदान गर्ने नीति अघि बढाएको छ ।