राजविराज । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले काठमाडाैँ स्थित बागबजारमा सोमबार आयोजित एक समारोहका बीच युवा पत्रकार तथा लेखक बिजेता चौधरी ‘प्रतिभा पुरस्कार-२०२५’ बाट पुरस्कृत भएकी छिन् ।
यसैगरी ‘प्रतिभा विशिष्ट सम्मान–२०२५’ वरिष्ठ कवि जसराज किराँतीलाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार बैरागी काइँलाले उनलाई नगद एक लाख रुपैयाँ, सम्मानपत्र, दोसल्ला सहित प्रदान गरेका छन् ।
प्रतिष्ठानका उपाध्यक्ष मिजास तेम्बेको अध्यक्षतामा आयोजित समारोहमा पुरस्कार ग्रहण गर्दै साहित्यकार चौधरीले आफु साहित्यमा साधनारत अवस्थामा कल्पनै नगरेको पुरस्कार पाउँदा अत्यन्तै उत्साहित भएको बताइन् । प्रतिष्ठानले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गर्दै यो पुरस्कारले मातृभाषा मैथिली र मधेशलाई सम्मानित गरेको भनी आफूले महसुस गरेको साहित्यकार चौधरीले भावना व्यक्त गरिन् ।
सन् १९८१ सालमा धनुषाको जनकपुरधाममा जन्मिएकी चौधरीले मैथिली भाषा साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहँदैआएकी छिन् । ४४ वर्षीया चौधरीले आरआर बहुमुखी क्याम्पस जनकपुरबाट नेपालीमा स्नातकोत्तर र पत्रकारिता विषयमा स्नातक अध्ययन पूरा गरेकी छिन् ।
उनका ‘धाराक विरूद्ध’ कविता सङ्ग्रह सन् २०१९ (मैथिली) र ‘कर्फ्यु ’ कथा सङ्ग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’, २०२१, एक पंक्ति कवितासङ्ग्रह (लेखिकाद्वारा प्रथम प्रयोग) कृतिहरु प्रकाशित छन् । चर्चित साहित्यकार मनु ब्राजाकीकृत ‘तिम्री स्वास्नी र म’को मैथिली अनुवाद ‘तोहर कनियाँ आ हम’ सन् २०२२ र ‘ऋतम्भरा’ नीरजा रेणु कृत मैथिली कथा सङ्ग्रहको नेपाली अनुवाद, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रहेको छ ।
यसैगरी विश्वेश्वरप्रसाद कोइरालाका कथा साहित्यकी नारी पात्रको मनोविश्लेषणात्मक अध्ययन, विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा मधेश, मैथिली साहित्यको इतिहास र मैथिली चित्रकलाको इतिहास र वर्तमान अवस्था विषयहरूमा शोध चौधरीले गरेकी छिन् । लेखिका चौधरीले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित आँगन पत्रिकाको सम्पादन समेत गरेकी छिन् । Pic. Kanchana Jha
