अधिवेशन कि अन्तिम चेतावनी ?

निता थापा

अहिले एमालेको अधिवेशन चलिरहेको छ। बाहिर झिलिमिली, भित्र नाराबाजी, मञ्चमा उही अनुहार, उही भाषण, उही घमण्ड। अधिवेशन त चलिरहेको छ, तर प्रश्न एउटा मात्र छ— के यो परिवर्तनको अधिवेशन हो, कि पतनलाई औपचारिकता दिने मञ्च?

यदि यसपटक पनि एमालेले उही पुरानो अध्यक्ष, उही पुरानो सोच र उही असफल व्यवस्थालाई दोहोर्‍यायो भने अब आउने चुनावमा जनताले “एमाले पनि थियो रे” भनेर सम्झने दिन टाढा छैन। राजनीति जनताको मनोभावसँग नचल्ने हो भने, भीड जम्मा गरेर पार्टी जोगिँदैन—इतिहासले बारम्बार प्रमाणित गरिसकेको छ।

ओलीको दम्भ र घमण्ड यो महाधिवेशनमा तोडिएन भने एमालेको भविष्यको फैसला यहीँ हुन्छ। आज मञ्चमा ताली पाउने नेतृत्व भोलि मतपेटिकामा लाज ढाक्न मुख खोजिरहेको देखिनेछ। प्रश्न उठ्छ— जनताले प्रश्न गर्दा नेताहरू कुन मुख लिएर चुनावमा जान्छन्?

एमालेमा नीति, सिद्धान्त र देश चलाउने क्षमता भएका नेता र कार्यकर्ता छैनन् भन्ने होइन। छन्—तर उनीहरू छायाँमा छन्। किनकि पार्टीभित्र लोकतन्त्र कमजोर छ, प्रश्न गर्नेहरू “असहज” ठानिन्छन् र चाकडी गर्नेहरू “योग्य” घोषित हुन्छन्। यस्तो व्यवस्थाले पार्टी होइन, गुट मात्र उत्पादन गर्छ।

आजको अधिवेशन एमालेका लागि अवसर पनि हो र अन्तिम चेतावनी पनि। यदि जनताको मनोभावअनुसार नेतृत्व परिवर्तन भएन, नीति–कार्यक्रम नयाँ बनेन, अनि अहंकारलाई निरन्तरता दिइयो भने एमालेको पतन कुनै विपक्षीले होइन, एमाले आफैंले लेख्नेछ।

इतिहास निर्दयी हुन्छ—नारा सम्झँदैन, ताली गन्दैन। उसले परिणाम मात्र लेख्छ।
अब निर्णय एमालेको हातमा छ— नयाँ बाटो रोज्ने कि पुरानो गल्ती दोहोर्‍याएर इतिहासको पृष्ठमा सानो अक्षरमा सीमित हुने। Source: facebook

Author:



क्याटोगरी छान्‍नुहोस