मधेशका मुख्यमन्त्री यादवलाई सिङ्गो सदनको विश्वास मत

जनकपुरधाम । मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन प्राप्त गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिङ्गो सदनबाट विश्वासको मत हासिल गरेका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ सांसदले यादवलाई विश्वासको मत दिएका हुन् । प्रदेशसभाका १० वटै दलका सांसदले समर्थन जनाएपछि मुख्यमन्त्री यादवले सर्वसम्मत विश्वासको मत पाएका छन् । सत्तापक्षीय दलहरूसँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत उनलाई विश्वासको मत दिएका छन् ।

मत विभाजन प्रक्रिया सम्पन्न भएपछि उपसभामुख बबिता राउत इशरले मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेको घोषणा गरिन् । नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धनमा सहभागी जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले यादवलाई समर्थन गरेका छन् ।

यसैगरी सत्ता बाहिर रहेका एक–एक सिटका राप्रपा नेपाल र नेपाल सङ्घीय समाजवादी पार्टीले समेत विश्वासको मत दिएका छन् । गत मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मंसिर २१ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस