राजबिराज । जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश कुमार यादवले आफु जहिले पनि जनताकै सेवक भएर काम गरेको हुँदा आफ्नो प्रतिष्पर्धामा कुनै पनि उम्मेदवार नरहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा सोमबार राजबिराजमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै यस्तो दावी गरेका हुन् । यादवले संविधान संशोधन, आत्मनिर्णयको अधिकार, नेपालको स्वाधीनता, मधेश, सप्तरीको सम्मानका साथै पार्टीका अध्यक्ष उपेन्द्र यादवले अगाडि बढाएका योजनाहरुका साथै शिक्षा, स्वास्थ्य, सडक, सिंचाइ, कृषि, बेरोजगारी लगायतका समस्याहरु समाधान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
आफु केही समय सिंचाइ मन्त्री हुँदा र पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको कायापलट हुने गरी गरेका योजनाहरुलाई पूर्णता दिने बताउँदै उनले भने ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालन, गजेन्द्रनारायण सिंह अस्पतालमा कायापलट हुने गरी भौतिक पूर्वाधार निर्माण, महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा इन्जिनियरिङ्ग भवन निर्माण, अस्पताल परिसरमा नर्सिङ्ग भवन, विद्यालयहरुमा शैक्षिक भवन, रुपनी–राजविराज सडक, राजविराज–छिन्नमस्ता–न्यौर सडक, राजविराज–हनुमाननगर–भारदह सडक निर्माण लगायतका कामहरु अध्यक्षज्यूले अगाडि बढाउनुभयो, वहाँ पछिका जनप्रतिनिधिले ती कार्यहरु पुरा गर्नुको साटो सञ्चालन हुन नदिन षड्यन्त्र गरिरह्यो, यहाँसम्मकी मुख्यमन्त्री पदमा रहँदा बजेट समेत कटौती गर्ने काम भयो ।’
विकास निर्माण, समान शिक्षा, उत्पीडित समुदायको सुरक्षा, गरिब तथा सुकुम्बासीको समस्या समाधान, कृषि क्षेत्रको विकास, युवाका लागि रोजगारी र अवसर सिर्जना तथा राज्यका नीति निर्माण प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिताका लागि सङ्घर्ष गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उम्मेदवार यादवले आफू निर्वाचित भएमा मतदातासँगको सम्बन्ध टुट्ने भ्रम तोड्ने दाबी गर्दै विगतमा संविधानसभा सदस्य, व्यवस्थापिका संसद सदस्य तथा मन्त्री हुँदा पनि निर्वाचन क्षेत्रमा बढी समय बिताएको स्मरण गराए ।
जनपरिषद्’ गठन गर्ने अवधारणा सार्वजनिक गर्दै टोल, वडा र पालिका स्तरमा नियमित बैठक राखेर आधुनिक प्रविधिबाट संसदमा जनमतको आधारमा आवाज उठाइने उम्मेदवार यादवले बताए । बिटोरी जग्गा प्रकरण, व्यापारी पलायन, शैक्षिक संस्थाप्रति घट्दो विश्वास र महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको दुर्दशाप्रति समेत उनले चिन्ता व्यक्त गरे ।
आफू संविधानसभा सदस्य हुँदा अघि सारको ‘द ग्रेट सप्तरी, बेस्ट सप्तरी, क्लिन राजबिराज, अपन गाम सुन्दर ठाम’ नारालाई व्यवहारमा उतार्ने उनले प्रतिवद्धता दोहोर्याए । सप्तरीको समग्र विकासका लागि आफू प्रतिवद्ध रहेको भन्दै आममतदातासँग मतका लागि उम्मेदवार यादवले अपिल गरे ।