उपेन्द्र यादवसँग जनताको पाँच गुनासो: बाटो, शिक्षा, स्वास्थ्य, रोजगारी र विकास

डाक्नेश्वरी (सप्तरी), २२ माघ । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी छलफल तथा भेंटघाटलाई विहीबार पनि तिब्रता दिएका छन् ।

डाक्नेश्वरी नगरपालिकाको लक्ष्मीपुर, पातो, बलाटी र बनौला गाउँका स्थानीय नेता, कार्यकर्ता तथा आममतदातासँग छलफल तथा भेंटघाटमा उनी व्यस्त भएका हुन् । बिना तामझाम जनतासामु पुगेका उम्मेदवार यादवलाई अधिकांश जनताले यसअघि चुनाव जितेर गएका जनप्रतिनिधिहरुले विकास नगरेको गुनासो गरेका छन् ।

गाउँमा अझैं सहज बाटो नपुगेको, सिंचाइ सुविधा अभाव, गुणस्तरीय शिक्षाको अभाव, सुविधासम्पन्न अस्पताल नभएको, पुल नहुँदा वर्षायाममा खोला तर्न समस्या झेल्नुपरेको, समयमा मलखाद नपाएको, ग्रामिण महिलाहरु अवसरबाट वञ्चित भएको, बेरोजगारी, नदी नियन्त्रण लगायतका समस्याहरु उम्मेदवार यादवसमक्ष राखेका छन् । चुनावका बेला मीठा आश्वासन बाँडेर जाने गरे पनि जितेर गएपछि जनतालाई विर्सिदिएको जस्ता गुनासाहरु पनि आएको बताउँदै उनले भने ‘जनताका गुनासाहरु स्वाभाविक छन्, विकासै नभएको अवस्था छैन, तर अपेक्षाकृत अन्य क्षेत्रहरुको तुलनामा यो क्षेत्र पछाडि परेको छ ।’

सर्वसाधारण जनताबाट आएका गुनासाहरुलाई गम्भीरतापूर्वक लिँदै अध्यक्ष यादवले भने ‘मेरो नजरमा पाँच मूलभूत समस्याको रुपमा बाटोघाटो, स्वास्थ्य, गरिबी, बेरोजगारी र विकास अति आवश्यक रहेको पाएँ, आमजनताका लागि यो अत्यन्तै चिन्ताको विषय हो, सुधारकालागि तीनै तहको सरकारले गम्भीरता देखाउनु जरुरी छ ।’ आमजनताका समस्या र गुनासाहरुलाई आफुले गहन रुपमा लिएको बताउँदै अध्यक्ष यादवले बोल्नुभन्दा पनि परिणाममा विश्वास गर्ने भएकोले त्यो परिवर्तन जनताले अनुभूति गर्न पाउने प्रतिवद्धता व्यक्त गरे । उनी सप्तरी ३ मा पहिलो पटक उम्मेदवार बनेका हुन् ।

चुनावी छलफल तथा भेंटघाटमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य एवम् युवा विद्यार्थीका संयोजक बिदेश्वर प्रसाद यादव (बिक्की), समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, डाक्नेश्वरी नगरपालिकाका पूर्व मेयर शिवनारायण साह, जिल्ला अध्यक्ष सुनिल कुमार झा, पार्टीका जिल्ला सचिव विजय कुमार राय लगायतका नेताहरु सहभागी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस