चुनावी_मनोहरपोथी : चुनावी खर्च, सामाजिक सन्तुलन र अस्वस्थ प्रतिस्पर्धा

चन्द्रकिशोर
चुनावमा नेताहरूका दुःख अनेक छन। एक जनाको दलानमा गयो,तर तिनकै भाईको आंगनमा छिरेन भने फेरी ऊ रिसाउने। बिहे भोज खान नेताजी त आए तर लामो समय बसि दिएनन फेरी त्यसको गुनासो। चुमावन ( शुभकामनाका टोकन रकम) त्यो कति दियो त्यसको पनि लेखा-जोखा।यो टोलमा यति मात्र दियो त्यो टोलमा अस्ति त यति दिएको सुनियो, त्यसमा पनि गनगन। उसको घरमा चिया खाए, छिमेकीका आमा – बुवालाई ढोगे मेरो आंगनमा खै त्यसरी गर्न भ्याएको? ससाना कुरामा बेखुशी लिएर मतदाता बसेछन र मत माग्दै हिडने नेताजीहरू निरिह बनेका छन।यस प्रबृत्तिका सामाजिक – राजनीतिक प्रभाव बारे सोच्न जरूरी छ।

मलाई लाग्छ,चुनावी मौसममा देखिने यस्तो ससाना असन्तुष्टिको संस्कृति वास्तवमा “सामाजिक पूँजी” को स्वरूपसँग गाँसिएको छ।के यस्तो प्रबृत्ति मधेशतिर बढि छ? चुनावका बेला हुनु पर्ने के थियो?हाम्रा पछिल्ला अभ्यासले

नेता–मतदाता सम्बन्ध नीतिगत बहसमा भन्दा व्यक्तिगत सान्निध्य, भोज–भतेर, ढोग र चुमावनको लेखाजोखामा सीमित भयो । यो चलनले लोकतन्त्रको विमर्शलाई कसरी सतही बनायो त्यसको हेक्का हामी मतदाताले राखेनौ कि?

मतदाताले आफूलाई “सम्मानित” महसुस गराउन खोज्नु स्वाभाविक हो, तर त्यो सम्मान नीति, कार्यक्रम र जवाफदेहिताबाट नभई व्यक्तिगत उपस्थितिबाट नापिन थाल्यो भने राजनीतिक चेतना भावनात्मक लेनदेनमा झर्छ।र यसले सार्वजनिक मुद्दा भन्दा व्यक्तिगत मनमुटाव, तुलनात्मक प्रिविलेज, तफसिलका गुनासालाई प्राथमिकता दिने प्रवृत्ति बलियो बन्यो।यस्तो व्यवहारले चुनावी खर्च र प्रतिस्पर्धालाई अस्वस्थ बनायो। नेताहरू बाध्य भएर प्रत्येक आँगन, प्रत्येक भोज र प्रत्येक टोलमा बराबरी देखिन खोज्दा राजनीतिक अभियान नीति प्रस्तुतीकरणको सट्टा सामाजिक/ मतदाता सन्तुलन मिलाउने अभ्यासमा परिणत देखियो।

कैफियतका कामहरूमा नेताजीहरूको समय, श्रम र उर्जा खर्चिने गरेको छ।य सले पैसाको प्रभाव बढाउँछ, किनकि “कति दियो?” भन्ने प्रश्नले “के सोच राख्यो?” भन्ने प्रश्नलाई छायाँमा पारिदियो। दीर्घकालमा यसले आर्थिक रूपमा सक्षम व्यक्तिलाई मात्र चुनावी मैदानमा टिक्न सजिलो बनाउंदैछ र साधनहीन तर सक्षम राजनीति व्यक्तिहरू हतोत्साहित बन्दैछन। घरदैलो गर्न डर मान्न थालेका छन। कतै रोड-शो यस्तै उलझनहरूको रचनात्मक विकल्प खोजी त हैन!

समाजमा सूक्ष्म विभाजन र तुलना संस्कृतिलाई यसले गहिरो बनाएको छ। “हाम्रो टोल–तिम्रो टोल”, “उसको घर–मेरो घर” भन्ने मानसिकता बलियो हुँदा सामूहिक हितभन्दा सानो घेराको प्रतिष्ठा महत्त्वपूर्ण ठानिने भयो। परिणामतः लोकतान्त्रिक प्रक्रिया व्यक्तिगत मान–अपमानको हिसाबकिताबमा रूपान्तरित भयो कि ? तसर्थ नेताजीहरू लाई गाली गर्नु भन्दा लोकतन्त्रको स्वास्थ्यका लागि मतदाताले पनि आफ्नो अपेक्षाको मापदण्डलाई व्यक्तिगत सत्कारबाट सार्वजनिक उत्तरदायित्वतर्फ सार्नु अपरिहार्य देखिन्छ।

Author:



क्याटोगरी छान्‍नुहोस