रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले रौतहट–१ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिदै नेपालले यसपटक रौतहट जिल्लाको प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा नआएको उल्लेख गर्दै लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भएकाले त्यसलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका हुन् । उनले रौतहट–१ बाट विजयी राजेश चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । साथै चुनावमा तारा चिन्हमा मतदान गरी आफूप्रति विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाता, समर्थक तथा चुनावी अभियानमा दिनरात खटिएका पार्टीका नेता–कार्यकर्ताप्रति उनले कृतज्ञता प्रकट गरेका छन् ।
नेपालले राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै मत परिणामले हार जित भए पनि जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता कहिल्यै कमजोर नहुने बताएका छन् । अब आफ्नो भूमिका रचनात्मक प्रतिपक्षका रूपमा रहने उल्लेख गर्दै उनले जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्न, भ्रष्टाचार अन्त्य गर्न तथा सुशासन कायम गर्न निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् ।
उनले समाज र राजनीतिमा विद्यमान विकृति तथा विसंगतिविरुद्ध संघर्ष जारी राख्ने तथा सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि सक्दो योगदान दिने बताएका छन् । नेपालले जनताको विश्वास, माया र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बाँकी जीवन पनि जनताको सेवा, हित र समृद्ध रौतहट तथा समुन्नत नेपाल निर्माणका लागि समर्पित रहने बताएका छन् ।