काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा समानुपातिक प्रणालीअन्तर्गत प्राप्त मतका आधारमा सिट बाँडफाँट गरिएको जानकारी दिएको हो।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ। त्यस्तै नेपाली कांग्रेसले २० सिट र नेकपा एमालेले १६ सिट हासिल गरेका छन्। त्यसैगरी नेकपाले ९ सिट पाउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४–४ सिट प्राप्त गरेका छन्।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत (९६ दशमलव ०५ प्रतिशत) सदर भएको जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार कुल सदर मतका आधारमा तोकिएको तीन प्रतिशत मत सीमा पार गर्ने छ वटा दललाई मात्र समानुपातिक सिट वितरण गरिएको आयोगले जनाएको छ।
यसैबीच प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै सबैभन्दा बढी १२५ सिट जितेको जनाइएको छ।