काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा राखिएको छ।
प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएपछि ओलीलाई प्रारम्भिक रूपमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखी स्वास्थ्य परीक्षण गरिएको थियो। नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले उनको जाँच गरेको थियो भने मुटु रोग विशेषज्ञहरूले पनि अवस्था मूल्याङ्कन गरेका थिए। रगत परीक्षण, भिडियो एक्स–रे लगायतका परीक्षणपछि उनलाई एनेक्स वानमा सारिएको हो।
अस्पतालका अनुसार ५०१ नम्बर बेड मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि छुट्याइएको हो। ओली यसअघि दुईपटक मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी हुन्।
जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरअन्तर्गत कारबाही सिफारिस भएपछि प्रहरीले उनलाई भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरेको हो। यसै प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि पक्राउ गरिएको छ।
शनिबार सार्वजनिक बिदा परेकाले दुवैलाई आइतबार अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।