दीपशिखा शर्मा
नेपालको प्रतिष्ठित मुलधारको मिडिया ‘कान्तिपुर’ दैनिकले पछिल्लो समय गरिरहेको रिपोर्टिङ विशेषगरी निवर्तमान गृहमन्त्री सुधन गुरुङका विषयमा लेखिएका समाचारमा आफ्नो गम्भीर असहमति रहेको भन्दै कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले राजिनामा दिएका छन्। उनको राजीनामाको कारण कान्तिपुरको ‘मिशन पत्रकारिता’ भनिएको छ।
सिरोहियाको राजिनामा पश्चात् नेपाली सञ्चार जगतमा एउटा गम्भीर बहस छेडिएको छ। विगतमा रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा कान्तिपुरले अपनाएको आक्रामक शैली ‘मिशन पत्रकारिता” थियो या ‘व्यावसायिक धर्म’ ? के उनको राजीनामाको मसीले तत्कालीन समयमा भएका तिता ‘प्रहारहरूको’ स्वीकारोक्ति होला? या यो केवल एउटा रणनीतिक बहिर्गमन मात्र हो? यो प्रश्न आज प्रत्येक नेपाली नागरिकको मनमा अझै गहिरो रूपमा उब्जिएको छ।
अहिलेको परिस्थिति हेर्दा लाग्छ, मिडियाको आवरणमा जसलाईपनि धम्क्याउन र ब्ल्याकमेल गर्न ‘सम्भव’ छ। सत्यलाई ‘भ्रामक’ बनाउन र शक्तिलाई ‘चोख्याउन’ पनि यहाँ ‘सम्भव’ छ।
हेडलाइनको आडमा कसैको अस्तित्वमाथि धम्कीको व्यापार गर्न ‘सम्भव’ छ। यहाँ शक्तिको लेपन लगाएर कालोलाई सेतो र झुटलाई सत्य सावित गर्न ‘सम्भव’छ। नागरिकतादेखि चोखिने मुद्दासम्म, यहाँ हरेक अनैतिकतालाई नैतिकताको खोल ओढाउन ‘सम्भव’ छ।
जब मिडियाले आफ्नो ‘वाचडग’को भूमिका बिर्सिएर कसैलाई सिध्याउने वा जोगाउने ‘मिशन’ बोक्छ, तब पत्रकारिताको धर्म त्यहीँबाट समाप्त हुन्छ।
अक्टोपस र शंखेकिराको नियति
चर्चित पत्रकार तथा सांसद राजिव खत्रीले भनेझैं अक्टोपस र शंखेकिराको विम्ब यहाँ निकै सान्दर्भिक देखिन्छ। अक्टोपस (शक्ति) ले शंखेकिरा (मिशन/एजेन्डा) लाई निल्न त खोज्छ, तर शंखेकिराले पहिले नै आफूलाई एउटा कठोर सुरक्षा कवचभित्र सुरक्षित राखिसकेको हुन्छ। वास्तवमा आजको ‘मिशन पत्रकारिता’ ठ्याक्कै अक्टोपस र शंखेकिराको त्यो अनौठो र आत्मघाती युद्ध जस्तै बनेको छ।
१.शक्तिको दम्भ: मानौँ कुनै शक्तिले आफूलाई बलियो ठानेर जब कुनै एजेन्डा वा ‘मिशन’लाई आत्मसात गर्छ वा निल्छ, उसलाई लाग्छ उसले जीत हासिल गरिसकेको छ । मिडिया हाउसहरू जब अक्टोपस जस्तै आफ्ना आठवटा खुट्टा (प्रभाव, पहुँच, र पैसा) फैलाएर साना शंखेकिराहरूलाई निल्न खोज्छन्, उनीहरूलाई लाग्छ कि उनीहरूले निरिह प्राणीको शिकार गरिरहेका छन्।
२.सुरक्षाको कवच : तर कतिपय ‘मिशन’हरू शंखेकिरा जस्तै प्रभावशाली हुन्छन्, जो पहिले नै एउटा कठोर स्वार्थको हड्डीभित्र लुकेर बसेका हुन्छन्। फलतः अक्टोपसले त्यसलाई निल्नु नै उसको जीवनको अन्तिम गल्ती साबित हुन्छ।
३.आन्तरिक विनाश: तर जब त्यो ‘मिशन’ पेटभित्र पुग्छ, तब त्यसले आफ्नो वास्तविक स्वरूप देखाउन थाल्छ। अर्थात् अक्टोपसको पेटभित्र पुगेपछि शंखेकिरा आफ्नो खोलबाट निस्कन्छ र उसले भित्रैबाट बिस्तारै अक्टोपसको नरम अंगहरू काट्न शुरु गर्छ अनी भित्रैबाट अक्टोपसलाई खाएर सिध्याउँछ। त्यसरी नै गलत नियतले गरिएको ‘मिशन पत्रकारिता’ले अन्ततः संस्था र शक्ति दुवैको अस्तित्व समाप्त पारिदिन्छ।
४. अन्तिम परिणाम: अन्त्यमा अक्टोपस ढल्छ, तर शंखेकिरा (त्यो स्वार्थ वा एजेन्डा) भने नयाँ स्वरूपमा जीवितै रहन्छ। अर्थात् त्यो ‘मिशन’ रूपी शंखेकिरा भने फेरि अर्को शिकारको खोजीमा जस्ताको तस्तै बाहिर निस्कन्छ।
त्यसैगरी मिडिया जबसम्म व्यावसायिक र निष्पक्ष रहन्छ, तबसम्म त्यो समाजको ऐना बन्छ। तर जब मिडिया जब ‘वाचडग’ बाट ‘हन्टर’ (शिकारी)को रुपमा कसैलाई सिध्याउने ‘हतियार’ बन्छ,तब यसले आफ्नै विनाशको खाडल खनिरहेको हुन्छ।
सम्भव सिरोहियाको राजीनामाले ‘मिशन पत्रकारिता’ को जुन घाउ कोट्याएको छ, त्यसले एउटा स्पष्ट सन्देश दिएको छ ,यदि पत्रकारिताले आफ्नो मर्यादाको सीमा नाघेर कसैलाई सिध्याउने खेल खेल्छ भने, अन्ततः त्यो खेलले आफ्नै खेलाडीलाई सिध्याउँछ। शंखेकिराको जीत हुनु र अक्टोपसको हार हुनुमा कसैको हित छैन, किनकि यस प्रक्रियामा मारिने त केवल ‘पत्रकारिताको विश्वसनीयता’ मात्र हो।
समग्रमा,सम्भव सिरोहियाको राजीनामाले उठाएको ‘मिशन पत्रकारिता’को प्रश्नले नेपाली मिडियामा व्याप्त ‘अक्टोपस प्रवृत्ति’ र त्यसभित्र लुकेका ‘शंखेकिराहरू’को चिरफार गर्न ढिला भइसकेको संकेत गर्छ। शुभ दिन साथीहरू ! फेसबुकबाट साभार ।