नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था कानूनी राज्यको गम्भीर असफलता हो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ले उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटनालाई कानूनी राज्य र लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चेतावनी भएको बताएका छन्।

शुक्रबार जारी शोक वक्तव्यमा अध्यक्ष यादवले दिवंगत गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले कुनै पनि नागरिक आफ्नो पीडा, निराशा वा अन्यायको अनुभूतिलाई आत्मदाहजस्तो अन्तिम कदममार्फत व्यक्त गर्न बाध्य हुनु राज्यको उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठ्ने अवस्था भएको उल्लेख गरेका छन्।

वक्तव्यमा उनले एउटा व्यक्तिको मृत्युले परिवारले आफ्ना सदस्य गुमाउने मात्र नभई समाजले एक सक्रिय नागरिक गुमाउने र राज्यले आफ्ना नागरिकप्रतिको दायित्व पूरा गर्न सकेको छ कि छैन भन्ने प्रश्नसमेत उठ्ने बताएका छन्। उनले घटनालाई सामान्य दुर्घटना वा क्षणिक आवेगका रूपमा नलिन आग्रह गर्दै यसको वास्तविक कारण, पृष्ठभूमि तथा त्यसतर्फ पुर्‍याउने सबै परिस्थितिको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेका छन्। साथै, घटनामा कुनै व्यक्ति, संस्था वा राज्य संयन्त्रको लापरवाही वा गैरजिम्मेवारी देखिए कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताएका छन्।

अध्यक्ष यादवले गणेश नेपालीका परिवारलाई उचित राहत, सम्मानजनक क्षतिपूर्ति तथा आवश्यक सामाजिक–आर्थिक सहयोग तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। साथै श्रमिक, कामदार, युवा तथा आम नागरिकका गुनासा समयमै सम्बोधन गर्ने, न्यायमा सहज पहुँच सुनिश्चित गर्ने र प्रभावकारी मनोसामाजिक सहयोगको संस्थागत व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेका छन्।

उनले मानव जीवनभन्दा ठूलो कुनै विषय हुन नसक्ने उल्लेख गर्दै नागरिकले आफ्नो आवाज सुनाउन जीवन नै समाप्त गर्नुपर्ने अवस्था सिर्जना हुनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने बताएका छन्। यस्ता घटनाबाट राज्य, समाज र सम्बन्धित सबै पक्षले गम्भीर आत्मसमीक्षा गर्दै नागरिकको जीवन, सम्मान र न्यायको प्रभावकारी संरक्षणमा ध्यान दिनुपर्ने यादवको भनाइ छ।

Author:



क्याटोगरी छान्‍नुहोस