राजविराज । चौकीदारको जिम्मेवारी र खाना व्यवस्थापनको विषयलाई लिएर सप्तरी जिल्ला कारागारभित्र विवाद हुँदा एक बन्दीले शरीरमा मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेका छन् ।
शनिबार बिहान करिब साढे ६ बजे ‘बुधन’ भनिने जोगानन्द मण्डलले खाना पकाउन प्रयोग हुने स्टोभमा राखिएको मट्टीतेल शरीरमा छर्किएका हुन् । उनले आगो भने नलगाएको कारागार प्रमुख रूपक मण्डलले जानकारी दिए ।
हाल चौकीदारको जिम्मेवारीमा रहेका रामरिझन यादव र जोगानन्द मण्डल पक्षबीच विवाद भइरहेका बेला घटना भएको हो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कारागारको ए ब्लकमा सामान्य विवादपछि होहल्ला भएको थियो । यसअघि चौकीदार यादवमाथि कुटपिट भएको विषयलाई लिएर पनि उनीहरूबीच विवाद रहेको उनले बताए ।
कारागार स्रोतका अनुसार खाना व्यवस्थापनमा चौकीदार यादवले मनोमानी गरेको आरोप लगाउँदै मण्डल पक्षले नयाँ चौकीदार नियुक्त गर्न माग गर्दै आएको थियो । आर्थिक वर्षको सुरुवातमा चौकीदार परिवर्तन गर्ने व्यवस्था रहेकाले ४–५ जनाको नाम सिफारिस गरिएको र अब विभागले चौकीदार तोक्ने प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
लागुऔषध कारोबारसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका मण्डल २०७९ पुस १४ गते कोशी ब्यारेज नजिकबाट ८ क्विन्टल १० किलो गाँजा बरामद भएको घटनामा फरार रहेको आरोपमा पक्राउ परेका हुन् । उनलाई २०८२ असार १ गते हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहबाट पक्राउ गरिएको थियो । घटनापछि कारागारको अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ ।
