सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्ड तथा त्यसपछिको हिंसात्मक घटनाको सत्यतथ्य बुझ्न इन्सेकको नेतृत्वमा विभिन्न मानवअधिकार संस्थाको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ।
इन्सेक, सिजप, सिविन, नर्थ साउथ कलेक्टिभ्स र मानव अधिकार सञ्जालको टोलीले मृतकका परिवार, प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा, व्यापारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग भेट गरी घटनाबारे जानकारी लिएको हो।
मृतक ओमप्रकाश मेहताका बुबा कृष्णदेव मेहताले डिजेको विषयमा भएको विवादपछि सुरक्षाकर्मीले गोली चलाएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरे। जयप्रकाश मेहताका बुबा नरेश मेहताले परिवारको एकमात्र सहारा गुमाएको पीडा सुनाउँदै न्याय दिलाइदिन आग्रह गरे।
घाइतेहरूको उपचारमा संलग्न पब्लिक पोलिक्लिनिकका सञ्चालक जयकृष्ण मेहताले सामाजिक सञ्जालमा फैलाइने घृणास्पद अभिव्यक्तिले समुदायबीच अविश्वास र हिंसा बढाउन भूमिका खेलेको बताए।
देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले भिड नियन्त्रणका अन्य विकल्प हुँदाहुँदै अत्यधिक बल प्रयोग भएको आरोप लगाउँदै घटनाको सूक्ष्म र न्यायिक अनुसन्धानका लागि कल डिटेल, प्रत्यक्षदर्शीको बयान र सीसीटीभी फुटेजको परीक्षण गर्न माग गरे।
अर्कोतर्फ देवानगञ्ज–४ का तफेजुल मन्सुरीले बोलबम यात्राका क्रममा डिजेको आवाजलाई लिएर सामान्य विवाद भएपछि ठूलो समूह गाउँतर्फ आउन खोजेको र सुरक्षाकर्मीले रोकेको बताए। पछि गोली चलेको र त्यसलगत्तै बजारमा तोडफोड तथा आगजनी भएको उनको भनाइ थियो। आगजनीबाट प्रभावित व्यापारीहरूले अझै व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको बताएका छन्।
अनुगमन टोलीले स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीसँग पनि छलफल गरेको थियो। स्थानीयवासीले धार्मिक झण्डा राख्ने विषयमा पर्याप्त समन्वय नहुँदा तनाव बढेको उल्लेख गर्दै घटनाको वास्तविक कारण पत्ता लगाई दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले प्रभावित क्षेत्रमा अवस्था पूर्ण रूपमा सामान्य नभइसकेको भन्दै सामाजिक सद्भाव, विश्वास र शान्ति पुनःस्थापना गर्न नागरिक समाज, राजनीतिक दल, स्थानीय तह, प्रशासन र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
देवानगञ्जमा साउन १० गते भएको झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै र २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा आठ जना अझै उपचाररत छन् भने सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्।