राजविराज । सप्तरीमा प्रहरीले २१ क्विन्टलभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर टोलका ७४ वर्षीय भोला सदा र सोही स्थानका ५६ वर्षीय मंगल मुखियालाई गाँजा भण्डारण गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार २०८३ असोज ४ गते राति करिब १ बजे गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको टोलीले उनीहरूको घरमा कानुनबमोजिम खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी कुल ६४ पोका गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
डिजिटल तराजुमा तौल गर्दा भोला सदाको घरबाट बरामद गाँजा १ हजार ८३८.८७० किलोग्राम र मंगल मुखियाको घरबाट बरामद गाँजा २६१ किलो ५०० ग्राम रहेको प्रहरीले जनाएको छ। कुल २ हजार १००.३७० किलोग्राम अर्थात् करिब २१ क्विन्टल ३७० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
बरामद पदार्थ गाँजा जस्तो देखिने रहेको र दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन्।