वर्षा र हिमपात क्रमशः कम हुँदै, मौसममा सुधार आउने

काठमाडौं । अर्नब चक्रवातका अवशेषका रूपमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात दिउँसोपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यूनचापीय क्षेत्रको प्रभाव पश्चिमतर्फका बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश स्थानमा देखिएको छ । ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा तथा हिमपात भइरहेको छ भने मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले दिउँसोसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातसमेत हुन सक्ने जनाइएको छ ।

महाशाखाले केही समयअघि विशेष मौसम बुलेटिन जारी गर्दै मौसमी प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जाने र दिउँसोपछि वर्षा तथा हिमपातमा कमी आई मौसममा सुधार आउने जानकारी दिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस