राजविराज, १९ वैशाख । सप्तरीको गजेन्द्रनारायण सिंह अस्प्ताल राजविराजमा आजबाट दैनिक रुपमा पिसिआर परिक्षण सुरु भएको छ ।
हिजो (शनिबार) प्रमुख जिल्ला अधिकारी (सिडिओ) फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट भएको निर्णय अनुसार दैनिक रुपमा पिसिआर परिक्षण सुरु भएको हो ।
यसअघि भने अस्पतालमा साताको दुई दिन मात्रै पिसिआर परिक्षण हुँदै आएको थियो ।
‘अस्पतालबाट यसअघि साताको दुई दिन मात्रै पिसिआर परिक्षण हुँदै आएकोमा हिजो जिल्ला संकट व्यवस्थापन केन्द्रबाट भएको निर्णयअनुसार आजदेखि दैनिक परिक्षण सुरु गरेका छौं’ अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रणजितकुमार झाले भने–‘कोभिडको लक्षण देखिएका विरामीलाई निःशुल्क परिक्षण भइरहेको छ भने अन्य स्वइच्छाले परिक्षण गराउनेहरुको हकमा सरकारी निर्णयअनुसार नै एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।’
उनका अनुसार परिक्षण गराउनको लागि नाम दर्ता गराउने समय विहान साढे १० बजेदेखि साढे ११ बजेसम्म तोकिएको छ । यसअघि भने सरकारी निर्णय अनुसार सबैको हकमा प्रति व्यक्तिबाट पिसिआर परिक्षण वापत एक हजार रुपैयाँ लिदै आएको निमित्त मेसु झाले बताए ।