कोरोनालाई जित्न सफल भए यादव दम्पती

राजविराज, २१ साउन । कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धसँग हिस्ट्री जोडिएका सप्तरीको राजविराज नगरपालिका वडा नम्वर ८ का एक दम्पती कोरोनालाई जित्न सफल भएका छन् ।

सफ्टेक कलेज अफ कम्प्युटर ईन्जिनियरिङ्ग कलेज राजविराजका प्रबन्ध निर्देशक ३७ वर्षिय प्रमोद यादव र उनकी ३२ वर्षिया पत्नी बिन्दा कोरोनालाई जित्न सफल भएका हुन् । गत साउन १ गते मृत्यु भएका राजविराज ६ का व्यवसायीको सम्पर्कमा रहेका प्रमोद र उनकी पत्नी बिन्दा संक्रमित भएका थिए ।

मृतकसँगको ट्रेसिङ्गमा अति निकटका प्रमोद र उनकी पत्नी बिन्दाको गत साउन २ गते स्वास्थ्य कार्यालयको नेतृत्वमा स्वाब सङ्कलन गरिएको थियो । साउन ५ गते दुवै जनाको स्वाब रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो । यादव दम्पती कलेजमै होम आइसोलेसनमा बस्दैआएका थिए ।

कुनै पनि लक्षण नदेखिएका स्वस्थ अवस्थामा रहेका उनीको अर्को स्वाब स्वास्थ्य कार्यालयको टोलीले सोमवार सङ्कलन गरेको थियो । बुधबार उनीहरु दुवै जनाको स्वाव रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रमोदकी पत्नी गजेन्द्रनारायण सिंह अस्पतालको पोषण पुर्नस्थापना गृहमा कार्यरत नर्सिङ्ग स्टाफ हुन् ।

कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा रहने क्रममा आफुहरुलाई सहयोग गर्ने स्वास्थ्यकर्मी, सहानुभूती तथा जिज्ञासा राख्ने व्यक्तिहरुलाई सफ्टेक कलेजका निर्देशक यादवले धन्यवाद दिएका छन् । अवस्था सहज भएपछि पूर्ववत आफु कलेजको काममा फर्किने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सप्तरीमा कोरोना जितेर हालसम्म ३ सय ४१ जना घर फर्केका छन् । आईसोलेसनमा भर्ना भएका ४ सय ८१ मध्ये ३ सय ४१ जना उपचारपछि डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाले जानकारी दिएका छन् । उनका अनुसार हाल १ सय ४० जना आईसोलेसनमा छन् भने संक्रमितको संख्या ५ सय ३९ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस