img img img

धानबालीमा रोगको प्रकोपः उत्पादनमा कमी आउने

राजविराज, १३ असोज । सप्तरी जिल्लामा लगाईएको धान बालीमा विभिन्न रोगको प्रकोपका कारण उत्पादन घट्ने भएको छ ।
धान बालीमा गबारो, ब्लाष्ट, केजवर्म, पातमरुवा लगायतका रोगहरुका कारण धान बालीमा क्षति पुर्याएको हो । यो वर्ष नियमित वर्षा हुँदैआएकोले रोपाई समयमै सकिएको तथा शुरुमा धान राम्ररी सप्रिए पनि भदौदेखि विभिन्न रोगको प्रकोप देखिएको रुपनी गाउँपालिका वडा नम्वर ४ का किसान नथुनी साह बताउँछन् ।

धानको पात काटेर झारिदिने, पहेलो भएर पात सुक्ने, शुरुमा पात सुक्दै धानको जरासम्म सुक्ने तथा गुभा सुक्ने समस्या रहेको जानकारी दिँदै उनी भन्छन् ‘मैले डेढ बिघा खेतमा लगाएको धान खेतीमा रोगको प्रकोप कम गर्न विभिन्न विषादीहरु छर्के पनि केही कम भएपछि पूर्ण रुपमा निर्मूल हुन सकेन ।’ वर्षाले धान रोपाईमा साथ दिँदैआएकोले धान उत्पादन बढ्ला भन्ने आश गरेकोमा किटनाशक औषधीमा लगानी खर्चिदा पनि रोग पूर्ण रुपमा निर्मूल हुन नसकेकोले उत्पादन घट्ने निश्चित रहेको किसान साहको भनाइ छ ।

यस्तै दुःखेसो सुनाउँछन् स्थानीय युवा किसान दिनेश रजक पनि । निक्कै मेहनत र लगानी गरेर लगाएको धान खेतीमा किरा तथा रोगको प्रकोपले बर्वाद पारेको उनी बताउँछन् । आफुले किटनाशक औषधी विक्रेताको सल्लाह अनुसार औषधी प्रयोग गरेको जानकारी दिँदै उनी भन्छन् ‘हामी किसानहरुलाई हेर्ने कोही भएन, धानमा रोगको प्रकोप रहेको अवस्थामा सरकारको तर्फबाट प्राविधिक परामर्श तथा किटनाशक औषधी सहयोग भएको भए सहज हुने थियो तर केही सहयोग भएन ।’ उनका अनुसार औषधी प्रयोग गरेपछि रोगको प्रकोप कम भएको बताउँदै धेरै किसानले औषधी नछर्केका कारण धानबालीमा क्षति पुगेको छ ।

कृषि ज्ञान केन्द्र राजविराजका बाली विकास शाखा प्रमुख दिनेश कुमार यादवले सप्तरी जिल्लाको केही बाहेक अधिकांश स्थानीय तहहरुमा लगाईएको धानबालीमा रोग तथा किराको प्रकोप देखिएको बताउँछन् । किसानहरुले विभिन्न स्थानबाट जानकारी दिएपछि स्थलगत रुपमा हेर्दा धान बालीमा गबारो, ब्लाष्ट, केजवर्म, पातमरुवा लगायतका रोगहरु लागेको जानकारी दिँदै उनी भन्छन् ‘प्राविधिकहरुको सल्लाहमा किसानले किटनाशक औषधी प्रयोग गरेपछि धेरै राहत भएको छ, शुरुमा हाम्रो अनुमान थियो ३० प्रतिशत धानबालीमा क्षति हुन्छ, तर अहिले हेर्दा क्षतिको प्रतिशत धेरै कम भएको छ ।’

जिल्लामा गत विगतका वर्षहरुमा भन्दा यो वर्ष धानमा रोग र किराको प्रकोप बढी रहेको र हालको अवस्थामा सुधार आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादव बताउँछन् । आफुहरुले प्राविधिक परिचालन गरी धानबालीमा देखिएको रोगको प्रकोप न्यूनिकरण गर्ने प्रयास गरेको र सुधार समेत भएको उनको भनाइ छ ।

सप्तरीमा कुल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेकोमा यो वर्ष ६२ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानबाली लगाईएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस