आहा ! मनै लोभ्याउने सप्तरीको लोहजरा दह (हेर्नुहोस् तस्विरहरु)

प्रदेश २ कै प्रसिद्ध पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको छ सप्तरीको तिरहुत गाउँपालिका वडा नम्वर–५ स्थित लोहजरा दह । पाँच–छ वर्ष अघिसम्म बनभोज स्थलको रुपमा प्रयोग हुँदैआएको उक्त दह यतिबेला निक्कै चर्चित बन्दैगएको छ ।

विशेष अवसरहरुमा चहलपहल देखिने लोहजरा दहमा घुमघाम गर्न तथा प्रकृतिको छटामा रमाउन हाल दैनिकजसो सप्तरीसहित आसपासका जिल्लाहरुबाट मानिसहरु आउने गर्छन् । कुल ११.९ हेक्टर क्षेत्रफलमा फैलिएको यो दहको संरक्षण सम्वद्र्धन तथा सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएपछि दहको रौनकता बढ्दैगएको छ । ठाकुरबाबाको दहको नामले समेत परिचित उक्त स्थलको आसपासको क्षेत्रमा संरक्षित वन, विभिन्न प्रजातिका चराचुरुङ्गी तथा तालको सौन्दर्यताले जोकोहीको मन लोभिने गरेको छ ।

ठाकुर बाबा दहको नामले समेत चिनिने उक्त दहलाई करिब एक दशक अघि तात्कालिन नेपाली सेनाको टोलीले संरक्षण एवम् जिर्णोद्धार गरी समुदायलाई हस्तान्तरण गरेका थिए । पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी जिर्णोद्धार गरिएको उक्त स्थलको उद्घाटन तात्कालिन राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । त्यतिबेलैदेखि नै पिकनिक स्थल, बोटिङ्ग एवम् सुटिङ्गकालागि चर्चित हुँदै गएको लोहजरा दहमा यतिबेला दिनहुँजसो पर्यटकहरु घुम्न तथा पिकनिक मनाउन आउन थालेका छन् ।

अंग्रेजी सम्वत्, नयाँ वर्ष तथा खासगरी जाडो याममा पिकनिक मनाउन तथा घुम्न आउनेहरुको संख्या अत्यधिक रहने गर्दछ । तालको उतरतर्फ सामुदायिक वनमा वनभोज मनाउन आउनेहरुकालागि पक्की सेडहरुकासाथै खानेपानी समेतको व्यवस्था गरिएको छ ।

लोहजरा दहमा रहेको ठाकुर बाबा मन्दिर, डुङ्गा शयर, विभिन्न प्रजातीका पंक्षीहरुको आकर्षक एवम् मनोरम दृष्यले पर्यटकहरु लेभिने गर्छन् । दहको बढ्दो लोकप्रियतासँगै उक्त क्षेत्रमा भौतिक पूर्वाधार तथा सौन्दर्यीकरणकालागि प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साह र तिरहुत गाउँपालिकाको ध्यान तानिएको छ ।

भौतिक पूर्वाधार तथा सौन्दर्यीकरणको काम केही हदसम्म अगाडि बढे पनि अझैं थप व्यवस्थित गर्न सकारात्मक प्रयास आवश्यक छ । गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेर यादवका अनुसार दहको बढ्दो लोकप्रियताले गर्दा नेपालको विभिन्न जिल्लाका साथै भारतको विभिन्न राज्यहरुबाट पर्यटकहरु आउने गर्दछन् । दह क्षेत्रमा अझैं पूर्वाधार तथा पर्यटकहरुलाई आवश्यक सुविधाहरुको अभाव रहेकोले आवश्यक सहयोगकालागि आफु सम्वन्धित निकायमा पहल गरिरहेको उनको भनाई छ ।

कोभिड १९ वैश्विक महामारीका कारण दहमा बाहिरबाट आउने पर्यटकहरुको संख्यामा केही महिनादेखि घटे पनि अवस्था सहजोन्मुख हुँदैगएपछि हाल पर्यटकहरुको चहलपहल विस्तारै बढ्न थालेको छ । हाल यो क्षेत्रमा फिल्म तथा म्युजिक भिडियोहरुको छायाङ्कन गर्न कलाकारहरु आउने गर्छन् । डुङ्गामा जलयात्राका साथै प्राकृतिक दृष्यहरुमा तस्विर खिंचाउन समेत आगन्तुकहरु लोभिन्छन् । केहीवर्षयता उक्त दहमा माछापालन समेत गर्न थालिएको छ । विभिन्न प्रजातिका माछाहरुले समेत पर्यटकहरुलाई आनन्दित तुल्याउने गरेको छ ।

राजविराज नगरपालिकाबाट हुलाकी सडकखण्डदेखि कञ्चनपुर रोड हुँदै करीब १३ किलोमिटर ग्राभेल कच्ची बाटो भएर यो दहसम्म पुग्न सकिन्छ । दहसम्म कुनै पनि सवारी साधनबाट सहजै पुग्न सकिन्छ । यसका साथै पूर्व पश्चिम राजमार्गदेखि दक्षिण करिब पाँच किलोमिटर कच्ची बाटो हुँदै समेत पुग्न सकिन्छ ।

सम्भावनायुक्त पर्यटकीय गन्तब्य लोहजरा दह क्षेत्रमा समुचित भौतिक भौतिक पूर्वाधार, सौन्दर्यीकरण तथा व्यवस्थापन गर्न सकिए तिरहुत गाउँपालिका मात्र नभई प्रदेशकै आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान मिल्ने निश्चित छ । शब्द तथा तस्विरः श्यामसुन्दर यादव/मधेश लाइभ

 

Author:



क्याटोगरी छान्‍नुहोस