आलु बीऊको मूल्य तेब्बर वृद्धि हुँदा किसानहरु मारमा

रविन्द्र साह

राजविराज, २६ कार्तिक । विगत एक सातायता आलु बीऊको मूल्य आकासिँदा सप्तरीका किसानहरु मारमा परेका छन् ।

आलु खेती लगाउने समयमा व्यापारीहरु अचानक मनपर्दी तवरबाट तीन गुणा मूल्य वृद्धि गरेको हो । प्रतिबोरा (५० किलो) एक हजार रुपैयाँ पर्ने आलु बीऊको को मूल्य यो सिजनकोलागि तीन हजार रुपैयाँ पुर्याएपछि किसानहरु मारमा परेका छन् ।

आलु रोप्नकालागि खेत तयार पारेर सदरमुकाम राजविराज आईपुगेका सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ का कृषक रामबिहारी यादवले अचानक तेब्बर मूल्य वृद्धिले किसानहरु समस्यामा परेको बताए । आलु खेती लगाउने सिजनमा किसानले सुलभ रुपमा बीऊबिजन पाउनुपर्नेमा झन् चर्को मूल्य वद्धि गरेर खेती गर्ने किसानलाई झन निरुत्साहित गरेको उनले गुनासो गरे ।

गत वर्ष ९ सयदेखि एक हजार दुई सयसम्म सबै प्रकारका आलु बीऊ उपलब्ध हुने गरेको स्मरण गर्दै सप्तरीको महदेवा गाउँपालिकाका अर्का किसान रामभजु मण्डले भने ‘एक साता अघिसम्म सस्तो रहेको आलुको मूल्य अचानक आकासिँदा पनि सरोकारवालाले ध्यान दिएको छैन, हामी जस्ता सर्वसाधारण किसान मारमा परेका छौं । यसपालि मूल्य बढेर ३ हजार ५ सय सम्म पुग्नु दुःखद् भएको उनले बताए ।

मनपर्दी तवरले आलुको मूल्य वृद्धि हुँदा पनि अनुगमन गर्ने निकायले कुनै चासो नलिएको किसान मण्डलले आक्रोश व्यक्त गरे । अनुगमन गर्ने निकाय नहुँदा व्यापारीहरुको मनपर्दी बढेको बताउँदै उनले भने ‘यहाँ त सबैको आ आफ्नै मनपर्दी चलेको छ, अति गर्दा पनि कसैले कुनै चासो नलिएका कारण मूल्यवृद्धिको समस्या बढेको छ ।’

तौलमा पनि मनपर्दी

आलुको बीऊको मूल्यमा चर्को वृद्धि भएको छ नै । त्यसमाथि बोरामा पनि कम तौल रहने गरेको अर्का युवा श्यामप्रित मण्डलले बताए । आलु रोप्नकालागि खेत तयार भईसकेपछि उनी आलुको बीऊ किन्न राजविराज आएका थिए । यद्यपी आलुको बीउ भरिएको बोरामा कुनैमा ४६, ४७, ४८ र कुनैमा ४९ किलो मात्र आलु पाईएको उनले अनुभव सुनाए ।
आलु बीऊको अभाव
कोरोना संक्रमण लगायतका कारण यसवर्ष बाहिरबाट आलु कमै मात्रामा आयात भएकोले मूल्य वृद्धि भएको व्यापारीहरु बताउँछन् । लकडाउनले गर्दा आलु आयात गर्ने ठाउँ भारतको बंगालमा नै आलुको बिऊ महँगो रहेकोले महँगोमै खरिद गर्नुपरेको उनीहरु आफ्नै विवशता सुनाउँछन् । नाम नबताउने शर्तमा एक व्यापारी भन्छन् ‘यातायात खर्च पनि बढी पार्न जान्छ, झन् त्यसमा मूल्य वृद्धिले गर्दा हामीलाई झन् समस्या भएको छ ।’

अहिले बजारमा बंगाली, सेतो र रातो आलु विक्री भईरहेको छ । यसपाली बंगाली आलु २ हजार ९ सय रुपैयाँ, सेतो आलु ३ हजार एक सय रुपैयाँ र रातो आलु बीउ ३ हजार एक सय रुपैयाँमा विक्री भईरहेको छ । यद्यपी व्यापारीहरुले आलुको बीऊको मूल्य अभाव देखाउँदै ३ हजार ४ सयदेखि ३ हजार ५ सय सम्ममा खुलेयाम विक्री भईरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस