मधेशी जनताको माइण्डेट समग्र मधेश एक प्रदेशः पूर्वमन्त्री गिरी

 

राजविराज, २९ मंसिर । पूर्व मन्त्री सरिता गिरीले मधेश आन्दोलनको माइण्डेट समग्र मधेश एक प्रदेश रहेकोले त्यसलाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सप्तरीको राजविराज स्थित शिव मन्दिर परिसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मधेश यात्राका क्रममा रहेकी उनले त्यतिबेलाका पार्टीहरुले आन्दोलनको मुद्दालाई विसर्जन गरिदिएको आरोप लगाउँदै भनिन् ‘मधेश आन्दोलनको माइण्डेट समग्र मधेश एक प्रदेश थियो तर त्यो मूल मुद्दा नै विसर्जन गरिएको छ, जबसम्म स्वायत मधेश बन्दैन तबसम्म मधेशी जनतामाथि दमन शोषण भईरहन्छ ।’

नेपाल र भारत बिचको सम्वन्ध सदियौंदेखि रहँदैआएको र यो सम्वन्धलाई कुनै पनि शक्तिले तोड्न नसक्ने पूर्व मन्त्री गिरीले बताईन् । हाल कोभिड १९ को संक्रमणको बहानामा नेपाल भारत बीचको सिमानाका बन्द गरेर राखेको आरोप लगाउँदै उनले भनिन् ‘कोरोना भाइरस त बहाना मात्र हो, सिमानाका बन्द गरेर दैनिक गर्जो टार्न दैनिक उपभोग्य सामग्री ल्याउन तथा गहुँ बाली लगाउने बेलामा मलखादको आवश्यकता छ तर त्यसमा रोक लगाईएको छ, यो नियोजित हो ।’

मधेशी जनतामाथिको दमन शोषण अझैं कायमै रहेको चर्चा गर्दै किसानले मलखाद्, बीऊबिजन, सिंचाईको आवश्यकता रहे पनि सरकारले ध्यान नदिएको उनले गुनासो गरिन् । भारतमा भईरहेको किसान आन्दोलनको चर्चा गर्दै उनले भनिन् ‘भारतका किसानहरु समृद्ध छन्, सबल छन्, त्यहाँका किसानले आफ्ना ट्रयाक्टरसहित सडकमा उत्रेपछि सरकारलाई झुक्न बाध्य बनाएको छ तर मधेशका किसानहरु चरम गरिबी र अभावै अभावबाट गुज्रिनु परेको छ ।’

मधेशका यूवाहरुले आफ्नै भूमिमा रोजगारी नपाएर विदेशिनु परेको बताउँदै उनले चरम गरिबी र अभावग्रस्त अवस्थाबाट मुक्ति पाउन किसानहरु सशक्त रुपमा आन्दोलित हुनुपर्नेमा जोड दिईन् । आफुलाई षडयन्त्रपूर्वक सांसद पदबाट हटाएको स्मरण गर्दै उनले भनिन् ‘ममाथि अन्याय भएको छ, वर्तमान सरकारको ईशारामा न्यायालयसम्मबाट न्याय पाईन ।’

स्व. रघुनाथ ठाकुर, स्व. गजेन्द्रनारायण सिंहले मधेशी जनतामाथिको दमन, शोषण एवम् विभेद विरुद्ध आजिवन संघर्ष गरेको चर्चा गर्दै उक्त सपना अझैं अधुरा रहेकोले त्यसलाई साकार पार्न संघर्ष जारी रहने नेतृ गिरीले बताईन् । आफु मधेशयात्राको क्रममा रहेको र त्यस क्रममा जनताको विभिन्न समस्याहरुबारे जानकारी लिँदै जागरण अभियानलाई अगाडि बढाउने समेत उनले प्रतिवद्धता व्यक्त गरिन् ।

पूर्व सांसद सरिता गिरी समर्थक सुबी यादवको अध्यक्षतामा आयोजित सभामा डा. देवनाथ यादव, आर.डी. आजाद, रामनारायण यादव, भोला मुखिया लगायतले सम्बोधन गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस