नेकपाले देशलाई बन्धक बनायोः जसपा अध्यक्ष ठाकुर

जनकपुरधाम, २९ मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आन्तरिक विवादका कारण नेकपाले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्वर १० मधवामा पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्दै अध्यक्ष ठाकुरले देश कोरोना महामारीका कारण अस्तव्यस्त बनेको अवस्थामा समेत आन्तरिक किचलोका कारण नेकपा नेतृत्वको सरकारले देशलाई सही दिशा दिन नसकेको बताए । शिक्षा, स्वास्थ्य, व्यवसाय सबै धरासायी बनेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भने ‘कोरोना महामारी लगायतको समस्याले देश जटिल अवस्थामा छ, तर नेकपा आन्तरिक विवादमै मस्त छन ।’

कार्यक्रमका विशिष्ठ अतिथि मुख्यमन्त्री लालबाबु राउतले संघ सरकार प्रदेश २ सँग सौताको व्यवहार गरिरहेको आरोप लगाएका छन् । बजेटको बाँटफाँड लगायतको विषयमा केन्द्र सरकार आफुहरुसँग सौताको व्यवहार गर्दै आएको उनले बताए ।

प्रदेश सरकार सिमित स्रोत साधनका बीच विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अधिकार सहितको संघीयता कार्यान्वयनकालागी प्रदेश सरकार संघ सरकार माथि एक पछि अर्को मुद्दा दिदै कानूनी लडाई लडिरहेको चर्चा गरे । मनरा सिस्वा नगरपालिकाका प्रमुख सञ्जय सिंहको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, अल्का झा, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा सहितका वक्ताहरुले सम्बोधन गरे ।

कुल तीन करोड ५५ लाखको लागतमा १५ महिना भित्र उक्त पोखरीको सौन्दर्यीकरण कार्य सम्पन्न हुने मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस