पार्टीले दुई दिन अगावै कार्यक्रमको जानकारी प्रहरी प्रशासनलाई गराउनुपर्ने

 

राजविराज, १९ पुस । जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा समिति समेतको आइतवार बसेको बैठकले वर्तमान अवस्था एवम् राजनीतिक परिवेशबाट विकशित घटनाक्रमलाई मध्यनजर गर्दै आठ बुँदे निर्णय गरेको छ ।

विभिन्न पार्टीबाट हुने समर्थन वा विरोधका कार्यक्रमहरु आयोजना गर्दा एक अर्को पक्षलाई भौतिक मान सम्मानमा हानी नोक्सानी नपुग्ने दृष्टिकोणबाट मात्र गर्ने गराउने, सबै पार्टीहरुले जिल्ला सदरमुकाम एवम् पालिका क्षेत्रहरुमा आयोजना हुने आयोजना गर्ने गराउने, आ–आफ्ना कार्यक्रमका बारेमा प्रहरी प्रशासनलाई कम्तिमा दुई दिन अगावै पूर्व जानकारी गराउनुपर्ने निर्णय गरेको छ । यसैगरी एउटा पार्टीले कार्यक्रम गर्ने समय र स्थान जुध्ने गरी कार्यक्रम नगर्ने नगराउने, समय र स्थान फरक पर्ने गरी मात्र आ–आफ्नो कार्यक्रम आयोजना गर्ने, एउटा पार्टी आयोजना गरेको कार्यक्रम स्थल र अर्को पार्टीले आयोजना गर्ने गराउने कार्यक्रम स्थल जान आउन फरक मार्गको प्रयोग गर्ने गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुरले जानकारी दिएका छन् ।

उनका अनुसार जुलुश प्रदर्शन, विरोध तथा समर्थन लगायतका अन्य कार्यक्रम आयोजना गर्दा सामाजिक सद्भाव खलबलिन नदिन उच्च सम्वेदनशिलता अपनाउने, कुनै पनि पार्टीका नेता तथा कार्यकर्ताले आफुलाई सुरक्षा चुनौति भएको महशुष गरेमा तथ्य प्रमाणसहितको पूर्व जानकारी नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयलाई गराउनुपर्ने जनाईएको छ । जिल्लाको अवस्था शान्तिपूर्ण एवम् सौहाद्र्रपूर्ण रुपमा कायम राख्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने र कोभिड १९ संक्रमणको मौजुदा अवस्थालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाईएको सुनिश्चित गरी मात्र कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको प्रशासकीय अधिकृत ठाकुरले जानकारी दिएका छन् ।

बैठकमा प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, जिल्ला सुरक्षा समिति र जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस