प्रधानमन्त्रीले संघीयता र गणतन्त्रलाई नै समाप्त गर्ने चेष्टा गरेको छः अध्यक्ष यादव

 

जनकपुरधाम, १९ पुस । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी जनता समाजवादी पार्टीको काँधमा आएको बताएका छन् ।

जसपाको युवा संगठन समाजवादी युवा संघले जनकपुरमा आयोजना गरेको दुई दिने युवा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले संविधानमा रहेको असन्तुष्टीहरुलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नु पर्ने बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रलाई नै समाप्त गर्ने चेष्टा गरेको बताए ।

नेकपाको पछिल्लो गतिविधिले मुलुकमा नेकपाको काम नरहेको स्पष्ट भै सकेको र काँग्रेस पनि ढुलमुले भएकोले लामो आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको दावी गरे । डेट एक्सपायर भईसकेको नेपाली काँग्रेस र इन्जिन विग्रिएको नेकपाले मुलुकलाई अग्रगामी दिशामा लान नसक्ने उनले बताए ।

कार्यकारिणी समितिका सदस्य शरतसिह भण्डारीले ओली नेतृत्वको सरकारले चुनाव गराउन नभई सत्तामा टिकी राख्न र थप प्रतिगमनकारी कदमहरु चाल्न संसद विघटन गरेको आरोप लगाए । न्यायपालिका लाई समेत संसद पुनस्र्थापना नगर्न दिन दहाडै धम्की दिने प्रधानमन्त्री ओलीलाई सडकबाटै परास्त गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रदेश २ का मुख्यमन्त्री एवम् जसपाका कार्यकारिणी सदस्य लालबाबु राउतले संघीयता र समावेशितालाई समाप्त गर्न प्रतिगामीकारी शक्तिहरुले योजना तहत संविधानको मर्म विपरित प्रतिनिधि सभा विघटन भएको दावी गरे । युवा संघका अध्यक्ष योगेन्द्र राय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यकारिणी सदस्य एवं प्रदेश २ का योजना तथा आर्थिक मामिला मन्त्री विजय कुमार यादव, राज्यमन्त्री उषा यादव, केन्द्रीय सदस्य महाजन यादव, विभा पाण्डे सहितका वक्ताहरुले मन्तव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस