अमेरिकी संसद्ः ट्रम्प-समर्थकको हङ्गामापछि के भइरहेको छ?

जनकपुरधाम । भिड प्रवेश गरेर अवरुद्ध भएको अमेरिकी संसद्मा बैठक पुनः सुरु भएको छ । अमेरिकी संसद् रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि उक्त बैठक पुनः सुरु भएको हो ।

उक्त बैठकमा राष्ट्रपति–निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेपछि संसदीय बहस रोक्नु परेको थियो ।

प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड र प्रहरीसँग मुठभेड गरेका थिए । यसक्रममा प्रहरीको गोली लागेर एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ ।

फेसबुक र ट्विटरद्वारा ट्रम्पलाई प्रतिबन्ध

संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ । आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ’आइ लभ यू’ लेखेका थिए ।

ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लङ्घन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ । त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपर्थ्यो भन्ने ट्विटरको स्पष्टीकरण छ । फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ ।

यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए ।

पूर्वराष्ट्रपतिहरूले मुख खोले

संसद्मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन् ।

बराक ओबामाः इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन् । यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ ।

विल क्लिन्टनः जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला जसले अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको छ ।

जर्ज डब्ल्यु बुसः चुनावी नतिजाको यस्तो विवाद बनाना रिपब्लिक (अस्थिर राजनीतिक व्यवस्था) मा हुन्छ, हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन… यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो ।

दुई शब्दाब्दीपछि हमला

अमेरिकी संसद् भवनमा बुधवारको हमला सन् १८१२ को युद्धपछिको पहिलो रहेको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्ट जनाएको छ । सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो ।

घटना के हो ?

अमेरिकी संसद्मा गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको प्रमाणीकरण गर्न कङ्ग्रेस बैठक बसिरहेको थियो । संसद् बैठक भइरहेकै बेला राष्ट्रपति ट्रम्पद्वारा उत्साहित सयौँ समर्थकहरूले उक्त भवनमा हमला गरेर हङ्गामा गरेका थिए ।

उक्त हिंसा सुरु भएको घण्टौँपछि राष्ट्रपति ट्रम्पले भिडिओ जारी गरेर समर्थकहरूलाई घर जान भनेका थिए । अमेरिकी राष्ट्रपति चुनिएका जो बाइडनले अमेरिकी लोकतन्त्रमाथि अभूतपूर्व हमला गरिएको बताएका छन् ।

उनले अमेरिकालाई विश्वले हेरिरहेको बताउँदै त्यसले आफूलाई स्तब्ध पारेको बताए। उनले भने, ‘यो अराजकता हो। यो उथलपुथल हो। यो देशद्रोहको नजिकको कुरा हो।’-बीबीसी

Author:



क्याटोगरी छान्‍नुहोस