नेपालतर्फको पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको अवरोध

राजविराज, २३ पुस । नेपालतर्फ हुन लागेको पुल निर्माण कार्यमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको छ । अवरोधका कारण सप्तरीको डाकनेश्वरी नगरपालिका–६ कटैया टोलको दक्षिणतर्फ थालिएको निर्माण कार्य रोकिएको छ ।

वोर्डर आसपासका सर्वसाधारणलाई हुलाकी मार्ग हुँदै पूर्व पश्चिम राजमार्गसँग जोड्न कठौना–पातो–करियोत सडक निर्माण भइरहेको छ । सो सडकमा डाकनेश्वरी नगरपालिका–६ स्थित पर्ने खडक खोलामा पुल निर्माण गर्न हुलाकी आयोजनाले कुल १८ करोड ३३ लाख रुपैयाँमा काठमाडौंस्थित इलाईट कन्ट्रक्सन प्रा.लिसँग २०७६ माघ ८ गते समझौता गरेको छ ।

समझौताअनुसार ११० मिटर लामो पुल निर्माण गर्नुपर्नेछ । सोही अनुसार निर्माण कम्पनीले बुधवार पुल बनाउन निर्माणस्थलमा पुगेपछि भारतीय सिमा सुरक्षा बल करियोतले सिमा विवाद देखाउँदै पुल निर्माण कार्य रोकेको छ ।

हुलाकी आयोजनाका साइट इन्जिनियर आशुतोष कर्णले पुल बनाउने भनेर पारी भारतीय गाउँ करियौर र नेपालतर्फका बासिन्दाका बीच भएको सहमति अनुसार नै नेपाल सरकारले ठेक्का लगाएको बताए । तर, भारतीय सुरक्षाकर्मीले दुबै देशको सहमति माग गरिरहेको पुल निर्माण प्रभावित भएकोले सो विषयमा मन्त्रालयमा जानकारी गराइसकेको उनले बताए ।

यता, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सो विषयमा गृहमन्त्रालयमा जानकारी गराइसकेकोले परराष्ट्र मन्त्रालय मार्फत् दुई देशबीच छलफल भएर पुल निर्माण अघि बढ्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस