मिलेर चुनावमा जान प्रचण्ड–माधवलाई नेता पोखरेलको आग्रह

 

राजविराज, १३ माघ । नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाईएका आरोपहरु निराधार रहेकोले ती आरोपहरु फिर्ता लिएर मिलेर निर्वाचनमा जान आग्रह गरेका छन् ।

सप्तरीको राजविराज स्थित रङ्गशालामा मङ्गलवार आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीकै कुर्सीकालागि पार्टीलाई तहसनहस बनाउने खेलमा लागेको बताउँदै उनले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाईएका आरोपहरु निराधार रहेकोले ती आरोपहरु फिर्ता लिएर मिलेर निर्वाचनमा जान आग्रह छ, यसैमा सबैको हित हुन्छ ।’

निर्वाचन आयोगको निर्णयबाट पनि प्रथम अध्यक्ष केपी ओली, द्वितीय अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल रहेकोले पार्टी नै आधिकारीक हुने उनले दावी गरे । चुनाव चिन्ह सूर्य छाप समेत पाउने दावी गर्दै उनले भने ‘उम्मेदवारीका लागि केपी ओलीद्वारा हस्ताक्षरित पत्र नै आधिकारीक हुनेछ, यसैलाई सबै नेताले मानेर अगाडि बढ्नु उपयुक्त हुन्छ ।’

प्रधानमन्त्री ओली जनताको पक्षमा विकास र समृद्धिकालागि काम गर्दै आए पनि प्रचण्ड र माधवले कामै गर्न नदिएको तथा सहयोग गर्नुको साटो प्रतिपक्षको जस्तै भूमिकामा प्रस्तुत भएको उपप्रधानमन्त्री पोखरेलले दावी गरे । वरिष्ठ गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको नाममा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास प्रधानमन्त्री ओलीबाटै चाँडै हुने समेत उनले बताए ।

सहरी विकास मन्त्री प्रभु साहले प्रचण्डले पदकैलागि पार्टी फुटाउने षडयन्त्रमा लागेको आरोप लगाए । बृहत भेलालाई कानून मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सचिवालय सदस्य रघुबीर महासेठ, केन्द्रिय सदस्य सुखराम यादव, रञ्जु ठाकुर, ज्वाला साहसहितका वक्ताहरुले सम्वोधन गरे । नेकपा ओली पक्षका सप्तरी संयोजक ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय भन्दा बढी नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन् ।

यस अघि पार्टीद्वारा राजविराजमा ओलीको पक्षमा नाराबाजीसहित जुलुस प्रदर्शन गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस