मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त, उपकुलपतिमा डा.साह र रजिष्टारमा डा.यादव

जनकपुर, १८ माघ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुको नियुक्त भएको छ । प्रदेश सरकारको निर्णय अनुसार प्रतिष्ठानमा पदाधिकारीहरुको नियुक्ती भएको हो ।

प्रदेश २ सरकारद्वारा स्थापित सो प्रतिष्ठानको उपकुलपतिमा अर्थोपेडिक एवं ट्रमा सर्जरीका प्राध्यापक डा. रामकेवल साह, रजिष्टारमा त्रिभुवन विश्वविद्यालय इन्टिच्युट अफ मेडिसिनका एशोसिएट प्रोफेसर डा.विनोद यादव र रेक्टरमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा.अंकुर साहलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गरेका छन् भने नियुक्त तिनै जना पदाधिकारीहरुलाई मुख्यमन्त्री राउत, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र सामाजिक विकास मन्त्री नवलकिशोर साहले सफल कार्यकालको शुभकामना दिएका छन् ।

मुख्यमन्त्री राउतले प्रतिष्ठानको नियुक्तीको यो दिन प्रदेश सरकार र प्र्रदेशवासीकालागि गौरबको दिन भएको बताए । ‘यो दिन प्रदेशकै गौरवको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकार र प्रदेशवासीका लागि गौरवको दिन हो’ उनले भने ‘अहिले नवनियुक्त पदाकिारीहरुको लागि अवसरकासाथै चुनौती पनि रहेको छ, यद्यपी उहाँहरुले पाएको जिम्मेवारी कटिवद्ध रुपमा निर्वाह गर्नुहुनेछ ।’

मुख्यमन्त्री राउतले यसै वर्षदेखि एकेडेमिक सेशनहरु पनि संचालन गर्ने योजना रहेको बताए । कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रतिष्ठानसँगै प्रदेशभर स्वास्थ्य क्षेत्रमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस