संसद विघटन संघीयता र लोकतन्त्रमाथिको प्रहारः पहाडी

राजविराज, २७ माघ । मानव अधिकारवादी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ओलीले संविधान मात्र नभई संघीयता र लोकतन्त्रमाथि समेत प्रहार गरेको बताएका छन् ।

सप्तरीको राजविराजमा मङ्गलवार आयोजित देशको समसामयिक परिस्थितिः संसद विघटन विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ठूलो गल्ती गरेको बताउँदै उनले भने ‘संसद विघटन गरेर ओलीले संविधान मात्र नभई संघीयता र लोकतन्त्रमाथि समेत प्रहार गरेको छ, संसद पुर्नस्थापन भए ओली पूर्ण रुपमा समाप्त हुने तथा पुर्नस्थापन नभए देश ठूलो सङ्कटमा फँस्नेछ ।’

नेपालको संविधानमा संसदको प्राकृतिक अन्त्य स्वाभाविक रहे पनि अकाल मृत्युको परिकल्पना नरहेको मानवअधिकारवादी पहाडीले बताए । २०६२÷०६३ र मधेश आन्दोलनको माइण्डेटको बाधक ओली रहेको बताउँदै उनले भने ‘मधेश विद्रोह अहिंसात्मक थियो, कुनै पनि आन्दोलन साम्प्रदायिक हुनुहुँदैन ।’ आफु मधेश आन्दोलनको पक्षमा नभएको भन्दै आफ्नो शब्दकोषमा हिंसा शब्द नरहेको नेता पहाडीले प्रष्ट पारे ।

कार्यक्रममा वुद्धिजिवि बलराम यादवले देश जटिल अवस्थातर्फ जानुमा राजनीतिक दलहरु समेत जिम्मेवार रहेको बताउँदै उनले भने ‘प्रतिगमनलाई टेकेर नै ओलीले संविधान जारी गरेको हो, देशमा गोली चलाएर एकतार्फ संविधान जारी भएको खुशीयाली थियो भने अर्कोतर्फ देशको आधा भूभागका जनता आफन्त गुमाउँदाको शोकमा रहेको थियो ।’ उक्त कार्यक्रममा शान्ति समाजका अध्यक्ष उत्तम पुडासैनी, प्राध्यापक अमरकान्त झा लगायतले देशको वर्तमान अवस्थाबारे विचार व्यक्त गरे ।

वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रमका सहभागीहरुले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमका संयोजक प्राध्यापक रामरिझन यादवले सहजिकरण गरे भने सञ्चालन संयोग देवले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस