राजनीतिक अधिकार अपहरण हुन्छ भने जनसङ्घर्षमा जान्छौंः अध्यक्ष यादव

राजविराज, २८ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री के.पी. शर्मा ओलीले पार्टीको आन्तरिक विवादमा प्रतिनिधि सभा विघटन गरेर संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

सप्तरीको महदेवा गाउँपालिका स्थित डाढामा बुधबार आयोजित विरोधसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीको आन्तरिक विवाद पार्टीभित्रै समाधान गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नसकेका ओलीले प्रतिनिधि सभा विघटन गरेर तानाशाही प्रवृति लाद्ने काम गरेको छ, ओलीले लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षतालाई संस्थागत गर्नुको साटो समाप्त पार्न खोजेको छ ।’

प्रतिनिधि सभा भङ्ग गर्ने अधिकार संविधानमा नभएको प्रष्ट्याउँदै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले स्वेच्छाचारी ढङ्गले शासन सत्ता हातमा लिएर जनताले फालिसकेका शक्तिहरुको आडमा जनताको बलिदानबाट प्राप्त उपलब्धीहरुलाई समाप्त पार्न खोजेको बताए । आफुहरु सर्वोच्च अदालतको निर्णयको सम्मान गर्ने बताउँदै उनले भने ‘यदी राजनीतिक अधिकार अपहरण हुन्छ भने हामी जनताको अदालतमा जान्छौं, जनसङ्घर्षबाट अधिकार प्राप्त गर्छौं ।’

प्रतिनिधि सभा विघटन भएपछिको सरकार कामचलाउ हुने विश्वव्यापी मान्यता रहे पनि काम चलाउ सरकारका प्रधानमन्त्री ओलीले निरंकुशता लादेर मन्त्री परिषद् विस्तार, धमाधम राजनीतिक नियुक्ति, सरुवा, बढुवा लगायतका कार्यहरु गरिरहेको अध्यक्ष यादवले प्रष्ट्याए । राष्ट्रपतिसम्मले कामचलाउ सरकार नभनेर निरंकुशतालाई नै साथ दिएको बताउँदै उनले भने ‘विश्वका ठूला ठूला तानाशाहलाई जनताले समाप्त पारेको इतिहास छ, यो तानाशाहलाई पनि जनता चाँडै समाप्त पार्नेछन् ।’

महदेवा गाउँपालिकाका अध्यक्ष समेत रहेका जनता समाजवादी पार्टीका नेता दिपक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादव, राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह, पार्टीको कार्यकारिणीय समिति सदस्य एवम् पूर्वमन्त्री रेणु यादव, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, पार्टीका कार्यकारिणी समिति सदस्य एवम् प्रदेश सभा सदस्य मनिष कुमार सुमन, कार्यकारिणी सदस्य केशव कुमार झा लगायतले सम्बोधन गरे । कार्यक्रममा स्वागत मन्तव्य पार्टीका नेता विकास कुमार तिवारी तथा सञ्चालन युवा नेता सुभाष यादवले गरे ।

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पाँच सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष यादवले टिका तथा गम्छा ओढाएर स्वागत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस