डाँका र जालसाज मुद्दाका अभियुक्त यादव ५६ वर्षपछि पक्राउ

राजविराज, १६ फागुन । सप्तरीमा डाँका र जालसाज मुद्दाका एक अभियुक्तलाई ५६ वर्षपछि पक्राउ गरिएको छ । अदालतको फैसला कार्यान्वयन गराउन सप्तरी प्रहरीले थालेको अभियान अन्तर्गत साविक पकरी गाविस–१ (महादेवा गाउँपालिका–१) का श्रीलाल यादवलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी पकरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले बताए । उनका अनुसार सुरैतलाल यादवको जाहेरीमा तत्कालिन समयमा पक्राउ परेका अभियुक्त श्रीलाललाई २०२३ भदौ ३ गते डाँका मुद्दामा सप्तरी जिल्ला अदालतको फैसलाले १० बर्ष कैद ठहर भएको थियो ।

यसैगरी ०२१ जेष्ठ १९ गते पनि अदालतले जालसाज मुद्दामा उनलाई ६ महिना कैद फैसला गरेको थियो । दुवै मुद्दामा फरार रहेका अभियुक्त यादवलाई शुक्रवार पक्राउ गरि सप्तरी जिल्ला अदालतमा पेश गरिएकोमा आज (आइतवार) अदालतको आदेशले उनलाई कैद भुक्तानको लागी कारागार पठाएको डिएसपी साहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस