जनप्रतिनिधिकै दावी-‘भ्रष्टाचारको अखडा बन्यो सप्तकोशी नगरपालिका’

राजविराज, १७ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका भ्रष्टाचारको ‘अखडा’ बन्दै गएको भन्दै जनप्रतिनिधिसहितका चार वटा राजनितिक दलले संयुक्त रुपमा आन्दोलन थालेका छन् । एकलौटी ढंगले अघि बढेका नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर डेढ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरु आन्दोलित भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नगरस्तरीय नेताहरुले सोमवार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएका छन् । नगर प्रमुखले कोभिड–१९ महामारीको बेला एक करोड रुपैयाँ र प्रदेशबाट आएको २० लाख रुपैयाँ अनियमितता गरेको उनीहरुको आरोप छ ।

यसैगरी विज्ञापन विनै कर्मचारीहरु नियुक्ती गरिएको र शिक्षक नियुक्तीमा पनि आर्थिक चलखेल गरेर भर्ना गर्न लागिएको वडा नम्वर १ का अध्यक्ष नारायण आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘कोभिड–१९ को बेला अढाई करोडमध्ये १ करोडबढी रुपैयाँ अनियमितता भएको छ’ उनले भने–‘त्यसपछि पनि प्रदेशबाट आएको २० लाखको हरहिसाव छैन्, हरहिसाब खोज्दा दिनैं मान्दैनन् ।’

बाध्य भएर सर्वदलिय बैठक गुहार्नु परेको उनले बताए । ‘सर्वदलिय बैठकबाट हामीले ९ वटा बुँदा उल्लेख गर्दै ज्ञापन पत्र वुझाए पनि वास्ता नै गर्दैन्’ उनले भने–‘आज पुनः टीएमएल शिक्षक नियुक्त गर्न विज्ञापन विनै परीक्षा सञ्चालन गर्न खोजियो ।’

एकातर्फ हरहिसावको जानकारी नदिने र अर्कोतर्फ मनोमानी ढंगले कर्मचारी नियुक्ती गर्न लागिएको उनले पत्रकार सम्मेलनमा बताए । ‘यसअघि पनि सवैजसो कर्मचारी मेयर, प्रमुख प्रशासकीय अधिकृतसहितका मिलोमतोमा बस्नेहरुकै आफ्न्तहरुलाई नियुक्त गरिएको छ । र शिक्षक नियुक्तीमा पनि त्यही गर्न खोजिरहेकाले हामीले तत्काललाई परीक्षा रोक्न भनेका थियौं’ उनले भने–‘नसुनेपछि म लगायत ६/७ जना जनप्रतिनिधि र चार वटै दल मिलेर आन्दोलन सुरु गरे ।’

आन्दोलनको पहिलो चरणमा शिक्षक भर्ना गर्न लिइरहेको परीक्षा हलमा तालाबन्दी गरेको उनले बताए । ‘अझै हरहिसाब र विभिन्न नियुक्तीहरुबारे जानकारी नदिइए बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्ने हाम्रो योजना छ’, उनले भने ।

उता, नेकपा ओली समूहबाट निर्वाचित नगर प्रमुख उत्तम कुमार शर्माले राजनितिक विवादका कारण आफुमाथि अनियमितताको आरोप लागेको प्रतिक्रिया दिए । ‘केन्द्रमा नेकपाबीच देखिएको राजनितिक विवादले यो सबै भइरहेको छ’ उनले भने–‘शिक्षक नियुक्त गर्न राष्ट्रिय मिडियामै विज्ञापन भएको छ ।’ यद्यपी, नगर प्रमुख शर्माले राष्ट्रिय मिडियाको नाम भने यकिन सकेन् ।

Author:



क्याटोगरी छान्‍नुहोस