विप्लव समूहका नेता-कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

जनकपुरधाम, २१ फागुन । गृह मन्त्रालयले हिरासतमा रहेका नेपाल कम्युनिस्ट (विप्लव समूह) नेता कार्यकर्तालाई रिहाइ गर्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न निर्देशन दिएको हो ।

अन्य मुद्दाको हकमा भने जिल्ला सरकारी वकिलसँग समन्वय गर्न पनि निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा प्रक्रिया पुर्याएर आजै छाड्न निर्देशन दिइसकेको छ । नेपाल सरकारले २०७५ सालमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि २०९८ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जसमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् । बिहीबार बिहान मात्र सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको थियो । सोही दिन साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै नेता कार्यकर्तालाई रिहाई गर्न सर्कुलर जारी गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस