प्रदेश तथा स्थानीय तहमा खेलकुद बोर्ड आवश्यक

‘खेल’ मनोरञ्जनको उत्तम स्रोत मात्र होइन, जीवनको एक महत्वपूर्ण हिस्सा पनि हो । खेल शारीरिक एवं मानसिक दुबै खाले विकासमा सहायक छ । खेल शरीरको रक्त परिसंचरणमा सहायक हुँदै सबै प्रकारले तनावमुक्त गर्दै मानसिक विकासमा लाभदायी छ । खेल शारीरिक व्यायामको सटिक विधि हो । खेल शरीरलाई हृस्ट–पुस्ट, गतिशील एवं स्फूर्ति प्रदान गर्दै मानिसमा धैर्य, सहनशीलता, क्षमाजस्ता मानवीय गुणहरूको विकास पनि गर्दछ । खेल सामाजिक सद्भाव र भ्रातृत्व सम्बन्ध विकासको ठूलो आधार पनि हो ।

हाम्रो गाउँ समाजमा योगासन, दण्ड–बैठक, दौड़, कुश्ती, कबड्डी, तैराकी आदि अनेक व्यायाम र खेल पद्धति प्रचलित छन् । हिजो आज एथलेटिक्स, फुटबल, भलिभल, क्रिकेट आदि आधुनिक खेलहरू पनि थपिँदै गएका छन् । खेल राष्ट्रिय विकास, प्रादेशिक विकास र स्थानीय तहको विकासमा पनि सहायक छ । विकासशील देशको तुलनामा विकसित देशका नागरिक बढी स्वस्थ हुन्छन् । विकसित राष्ट्रहरूले प्रारम्भिक शिक्षासँगै जोडेर खेललाई अघि बढाएको हुन्छ ताकि नागरिकको सर्वाङ्गिण विकास क्रमशः हुँदै जाओस् ।

तराई मधेशको भूमि र समाज विविध प्रकारका खेलको विकासका लागि अनुकूल ठाउँ हो । यहाँ इन्डोर, आउटडोर साना, ठूला सबै खाले आधुनिक खेलका लागि पूर्वाधार निर्माण गर्न सहज छ । खेललाई व्यायामको दायराबाट विस्तार गरेर मनोरञ्जक र व्यावसायिक बनाउँदै स्थानीय, प्रादेशिक र राष्ट्रिय आर्थिक विकास र रोजगार वृद्धिको तहसम्म पु¥याउन सकिने सम्भावना छ । त्यसैले त्यस्तो स्थितिको निर्माणलाई लक्ष्य बनाएर सरोकारबाला सबै पक्षले हातेमालो गर्ने हो भने त्यो सहज पनि हुनेछ ।

समाज र राष्ट्रको दृष्टिमा पनि खेलको महत्व दिर प्रति दिन बढ्दै गएको छ । विगतका तुलना यताको समाजमा खेल क्रियाकलापले गति लिन थालेको छ । सरकारले पनि खेललाई प्रोत्साहित गर्ने प्रयास गर्दै आएको छ । खेल बजेटको तर्जुमा र वृद्धि गर्न थालेको छ । खेल प्रतियोगितामा निजी क्षेत्रका प्रायोजकहरू पनि प्रोत्साहित भएका छन् । तर खेल जगतमा फ्रेञ्चायजी (खेल व्यवसायी) हरूको उद्भव हुन अझै बाँकी छ ।

शनिबार सप्तरी भारोत्तोलन संघले आयोजना गरेको ‘प्रथम देवसुन्दर यादव स्मृति राष्ट्रिय खुल्ला महिला÷पुरुष भारोत्तोलन प्रतियोगिता’को उद्घाटन गर्दै प्रदेश २ सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले खेल र खेलाडीलाई प्रोत्साहित गर्दै आश्वस्त पारे कि उनीहरूको खेल विकासको चाहनामा प्रदेश सरकार उनीहरूको साथ छ । यसअघि पनि प्रदेश सरकारका मन्त्रीहरूले विभिन्न अवसरमा खेल विकासको पक्षमा सरकार रहेको उल्लेख गर्दै आएका छन् ।

प्रदेश २ सरकारले खेल क्षेत्रमा ‘खेलेगा मधेश खिलेगा मधेश’ जस्तो रोमाञ्चकारी नारा अघि सारेर प्रदेशको खेल जगतलाई प्रोत्साहित गर्ने काम गरेको छ । खेलाडीको प्रोत्साहनका साथै खेल मैदान र खेल पूर्वाधारको विकासका लागि प्रदेश सरकारले बजेट पनि छुट्याएको छ । त्यसै गरी स्थानीय तहले पनि खेलको विकासका लागि काम गर्नुपर्ने नीतिगत व्यवस्था छ । स्थानीयस्तरमा खेलकुदको संरचनात्मक पूर्वाधारको निर्माण, खेलकुदको विकास, प्रवद्र्धन, खेलकुद प्रतियोगिताको आयोजना, सहभागिताजस्ता कामकाज स्थानीय तहको काम, कर्तव्य र अधिकारमा तोकिएको छ ।

यसप्रकार प्रादेशिक तथा स्थानीय तहमा खेलकुदको विकास एवं प्रवद्र्धनका लागि नीतिगत तथा आर्थिक व्यवस्था भए पनि खेलविकास कार्यक्रमले सही ट्रयाक लिन सकेको भने छैन । खेलकुदको आयोजना नियमित कार्यक्रम बन्न सकेको छैन । युवाद्वारा शौख र रहरमा खेलकुदको आयोजना हुने गरेको छ । उनीहरूले र जसोतसो सबैतिरबाट स्रोत जुटाएर प्रतियोगिता सम्पन्न गर्दछन् । तर यो कार्य यसैगरी हुन सक्दैन । यसलाई सही ट्रयाकमा ल्याउन प्रदेश सरकारले सर्वप्रथम विद्यालय खेल नीति तथा व्यावसायिक खेल नीतिको तर्जुमा गर्दै प्रदेश तथा स्थानीय तहमा खेलकुद बोर्ड बनाउन आवश्यक छ ।

आफ्नो क्षेत्रको खेलकुदको पहिचान गरेर त्यसलाई प्रोत्साहित गर्ने काम अधिकार सम्पन्न बोर्डले मात्र गर्न सक्दछ । किशोरकिशोरी तथा युवालाई खेलकुदमा आकर्षित गर्ने, खेलाडी उत्पादन गर्ने, खेलकुद क्षेत्रमा अवसर तथा रोजगारी वृद्धि गर्ने गराउने, खेलकुदको प्रादेशिक तथा स्थानीय तहको कार्यक्रममा समन्वय गर्ने जस्ताका कामहरू प्रारम्भिक चरणमा हुनु आवश्यक देखिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस